सुनसरी । आज दिउँसो भारतको उत्तरप्रदेश स्थित अयोध्यामा भगवान् श्रीरामको बालस्वरुप मूर्तिको प्राण प्रतिष्ठा भएको अवसरमा सुनसरी स्थित रहेका विभिन्न मन्दिरहरुमा साँस्कृतिक कार्यक्रमको आयोजना सहित घर आगन तथा चौक चौकमा दीप प्रज्वलन गरिएको छ।राम जन्मभूमी अयोध्यामा भगवान् श्रीरामको प्राणप्रतिष्ठा भएको अवसरमा सोमबार मर्यादापुरुषेत्तम श्रीरामको खुसयालीमा भोक्राहा नरसिंह गाउँपालिकाको राजधानी चिरौली चौकमा हिन्दु स्वयंमसेवक संघ भोक्राहा नरसिंह गाउँ कार्य समितिले बृहत दीप प्रज्वलन गरी खुसयाली मनाएका थिए ।
त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित बस स्टप नजिकै स्थानीय युवा बिक्की पौदार, बिकास पौदार, चन्दन साह सहितका युवाहरुले “श्री राम जी” आज गरिएको प्राण प्रतिष्ठाको खुसयालीमा विभिन्न ठाउँमा दीप प्रज्वलन गरेको स्थानीय मनोज साहले जानकारी दिए ।उता गत पाँच सय वर्षदेखि त्रिपालमुनि रहेका ज्वाइँचेला रामलला वर्षौँपछि भव्य एवम् दिव्य मन्दिरमा विराजमान भएको खुसीमा भोक्राहा नरसिंह वडा नम्बर ५ स्थित रहेको रामजानकी मन्दिरमा स्थानीय युवा मिथलेश यादवले मन्दिरको रंगरोगनको सम्पूर्ण खर्च दिई मन्दिरलाई रंगरोगन गरिएको र गाउँका स्थानीय युवाहरुले मन्दिर सरसफाई गरी साँझ दीपावली मनाएको स्थानीय संजय यादवले बताए ।त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ स्थित रहेको रामजानकी मन्दिरमा आज एक भब्य समारोहका बीच अष्टयाम सुरु गरिएको छ भने वडा नम्बर ३ स्थित रहेको रामजानकी मन्दिर परिसर र वरपर फुलअबीर प्रयोग गरी श्री रामलगायतका धर्मोदेव सम्बोधन हुने नाउँ अंकित थरिथरीका कलात्मक तस्बिर बनाइएका छन्। सोही अवसरमा त्यहाँपनि भजन कृतन सुरु गरिएको स्थानीय रञ्जीत रामले बताए ।
यता भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ मा रहेका तीन वटा रामजानकी मन्दिर परिसरमा चन्दा संकलन गरी एकसाथ अष्टयाम सुरु गरिएको स्थानीय दिपक मेहताले जानकारी दिए ।
त्यस्तै “श्री राम” को प्राण प्रतिष्ठाको खुसयालीमा भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका विभिन्न मन्दिरलगायतका देवालयहरूमा श्री रामनाम सङ्कीर्तन, भजन, रामायण पाठ आदि धार्मिक कृत्यहरू हुँदै छन्।
साथै सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको गाउँसहरका विभिन्न चोक चौराहामा श्रद्धालु भक्तजनहरूले राम रथ बनाई बाजागाजाका साथ रामनामको नारा घन्काउँदै बजार प्रदक्षिणा गरेका छन्।
Discussion about this post