सुनसरी । इटहरी–धरान सडखण्डको पानीपियामा हात्ती आक्रमणबाट एक पुरुष घाइते भएका छन् ।
घाइते हुनेमा इटहरी २० तरहरास्थित शिखर टोल बस्ने ५० वर्षीय इन्द्र घले मगर रहेका छन् । बुधबार दिउँसोको समयमा चारकोसे झाडीमा पर्ने उक्त सडक खण्डमा हात्तीले आक्रमण गर्दा मगर घाइते बनेका हुन् ।
उनको हाल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
‘जंगलबाट फर्कने क्रममा हात्तीले आक्रमण गरेको एक प्रत्यक्षदर्शीले बताए । उनले बताएअनुसार आधि दर्जनभन्दा बढी संख्यामा आएका हात्तीको समूहमध्ये एक हात्तीले आक्रमण गरेको थियो ।’
हात्ती आक्रमणबाट घाइते बनेका मगरको तत्कालै उद्धार गरी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
अहिले हात्तीको समूह इटहरी २ स्थित शान्तिनगर सामुदायिक वन क्षेत्रभित्र प्रवेश गरेकाले सचेत हुनसमेत आग्रह गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय कोसी प्रदेशको सुनसरी, मोरङ र झापामा हात्ती आक्रमणबाट दर्जन बढीको मृत्यु भएको छ भने लाखौँको धन क्षति भएको छ । भारतबाट आएका जंगली हात्ती नफर्किदाँ समस्या हुँदै आएको छ ।
Discussion about this post