इनरुवा । सुनसरीको इनरुवा १० जल्पापुरका स्थानीयवासीको स्वास्थ्य उपचारका लागि बनाइएको स्वास्थ्य चौकी भवन पुग्ने नयाँ जो कोही एक छिन झुक्किन सक्छन।
चारैतर्फबाट गोबरको बिस्कुन सुकाइएको र परिषरको चारैतर्फ गाईगोरु, खसिबाख्रा बाधेर हाँसकुखुरा छाडा रुपमा बिचरण गरिरहेको देख्दा नयाँ जाने जो कोही कतै झुक्किएर पशु सेवा अस्पतालमा त पुगिएन भनेर झुक्किने स्थिति छ।
बिरामी उपचार गराउन आउने इनरुवा १० नम्बर वडामा रहेको जल्पापुर स्वास्थ्य चौकी परिषरलाई स्थानीयवासीले गोबरको बिस्कुन सुकाएर पशुपन्छीको चरिचरन र गोठका रुपमा प्रयोग गर्दा यस्तो स्थिति उत्पन्न भएको हो ।
इनरुवा नगरपालिकाको मातहातका रहेको जल्पापुर स्वास्थ्य चौकी परिषरमा सोही गाँउका स्थानीयले दैनिक रुपमा आफ्नो घरमा पालेका गाईगोरु, खसीबाख्रा र हाँसकुखुरा ल्याएर छाडनुका साथै गोबरको बिस्कुन सुकाउने गरेका छन ।
स्वास्थ्य चौकी रहेको भवनको चारैतर्फ घेराबेराका लागि गाडिएका एकसय भन्दा बढी फलामे पिलरमा चारैतर्फबाट गाईगोरु बाध्नुका साथै गाईबस्तुका लागि घाँस पराल, नाद राखेर गोठ बनाइएको छ ।
स्थानीयले स्वास्थ्य चौकी भवनमा आउने सडकदेखि कार्यालयको ढोकासम्म पशुपन्छी बाध्ने र छाडने गरेका कारण उपचारमा आउने बिरामीहरु गाईबस्तु र हाँसकुखुराको भिडबाट गोबर टेक्दै स्वास्थ्यकर्मी बस्ने कोठासम्म पुग्नु पर्ने स्थिति छ ।
स्वास्थ्य चौकी परिषरको चारैतर्फबाट पशु बाँधेर राखिएको उक्त स्थानमा हाँसकुखुरा लगायतका अन्य पशुपन्छी खुल्ला रुपमा छाडा छाडने गरिएकाले झट्ट हेर्दा पशुपन्छीको उपचार गर्ने पशुसेवा अस्पताल हो की भन्ने भान हुन्छ ।
सोही स्वास्थ्य चौकीको उत्तरतर्फ रहेको आधारभुत विद्यालय जल्पापुरको परिषरमा समेत चारैतर्फबाट गोबरको बिस्कुन सुकाउनुका साथै चौर वरपर गाईबस्तु बाध्ने गरिएको छ ।
स्वास्थ्य चौकीका सीअहेब अधिकृत राकेश साहले स्थानीयहरुलाइ्र्र पटक पटक स्वास्थ्य चौकी परिषरमा गाईगोरु खसिबाख्रा नबाध्न आग्रह गर्दा अटेर गर्दै गुनासो गरे ।
सीअहेब अधिकृत साहले वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरुले आएर वरपरका सवै स्थानीयवासीलाई आफ्नै घरमा रहेको गोठमा वा खेतबारीमा लगेर गाईगोरु खसिबाख्र्र्रा बाँधेर चराउन आग्रह गर्दासमेत उनीहरुले अटेर गदै्र्र आएकाले चारैतर्फ कम्पाउड वाल पर्खाल लगाए मात्रै समस्या समाधान हुने बताए ।
साहले भने, ‘पशुपन्छीको फोहरमैला, घाँस परालका कारण मानिसको उपचार गर्ने स्वास्थ्य चौकी भन्दा पशुपन्छीको उपचार गर्ने अस्पताल जस्तो देखिने गरेको छ ।’
स्वास्थ्य चौकीमा रहेको दुई जिर्ण भवनमा स्थानीयले पराल, गहुँको भुस र दाउरा भण्डारण गरेर राखेका छन । साह भन्छन, ‘धेरै पटक त्यसो नगर्न भनिसक्यौ तर कसैले टेर्दैनन् । यो समस्या कम्पाउण्ड वाल नलगाउन्जेलसम्म कुनैपनि हातमा समाधान हुने देख्दिन ।’
उनी थप्छन, ‘हामी विरामीको उपचार गर्नु कि खसीबाख्रा धपाउन जानु, स्थानीयसँग झगडा गर्न जानु ?’
छेवैमा टासिएको विद्यालयको अवस्था पनि त्यो भन्दा फरक छैन । कक्षा ७ सम्म पढाई हुने श्री आधारभुत विद्यालयको कम्पाउण्ड नहुँदा स्थानीयले अगाडि नै पराल थुपारेर राख्ने र गाईबस्तु खसीबाख्रा पगाहा लगाउने गरेका छन ।
विद्यालयका प्रधानाध्यापक जोगेन्द्र झा भन्छन, ‘विद्यार्थी पढाउनु कि खसी बाख्रा धपाउन लाग्नु समस्यै भईसकेको छ ।
उनका अनुसार कक्षा कोठामै स्थानीयका खसी बाखा र हास कुखुरा पस्दा विद्यार्थी पढाउन छाडेर शिक्षकहरु धपाउन ब्यस्त हुनु परेको स्थिति छ ।
सो विद्यालयमा वाल विकास सहित सात शिक्षक छन । कक्षा सातसम्म सञ्चालन भएको सो विद्यालयमा प्रत्येक कक्षमा प्रत्येक घण्टी शिक्षक बस्न पाउने स्थिति छैन । एउटा कक्षा पढाउँदा अर्को कक्षा पढाई विहीन भएर बस्नु पर्ने स्थिति छ ।
Discussion about this post