इनरुवा । इनरुवा नगरपालिका स्वास्थ्य शाखाले सेनेटरी प्याड खरिदमा आर्थिक ऐन विपरित एउटै योजनाको तीनवटा बजेट शिर्षक टुक्राएर सामान खरिद गर्न लागेको पाइएको छ ।
नेपाल सरकारले सरकारी सामुदायिक विद्यालयमा अध्यनरत बालिका (छात्रा) लाई निःशुल्क दिने सेनेटरी प्याड खरिदका लागि सर्सत अनुदान तर्फको २२ लाख ११ हजार रुपैयाँ इनरुवा नगरपालिका स्वास्थ्य शाखाले तीनवटा शिर्षकमा बजेट टुक्राएर बजेट ब्यवस्था गरेको छ ।
नेपाल सरकारले वार्षिक स्वीकृत कार्यक्रम अनुसार इनरुवा नगरपालिकालाई चालु आर्थिक वर्ष २०८०/०८१ का लागि २२ लाख ११ हजार रुपैयाँ रकम विनियोजन गरि पठाएको छ ।
इनरुवा नगरपालिका स्वास्थ्य शाखाले एउटै समान खरिद गर्न बजेट शिर्षक टुक्राएर खुल्ला प्रतिष्पर्धालाई छल्न सानो–सानो परिणाममा बजेट विनियोजन गरेको स्रोतले जनाएको छ । एउटै शिर्षकमा ठूलो बजेट राखेर खरिद प्रक्रिया अगाडि बढाउँदा टेण्डर गर्नु पर्ने हुन्छ भने विभिन्न शिर्षकमा टुक्र्याएर खरिद गर्दा टेण्डर नगरी कर्मचारीले आफूखुसी खरिद गर्न पाउँछन ।
जसका कारण सो बजेटलाई टुक्राएर एउटै शिर्षकमा तीन ठाँउ राखिएको र यस्ता अन्य धेरै शिर्षकहरुको बजेट पनि त्यसरी नै राखिएको बार्षिक नीति कार्यक्रम तथा बजेटमा देखिन्छ ।
खरिद ऐन विपरित उक्त प्याड प्रतिष्पर्धाका आधारमा तोकिएको मापदण्ड पुरा गरि बोलपत्रमार्फत खरिद गर्नुपर्ने प्रावधानलाई छल्न खरिद ऐनको नियम बाहिर गएर बजेट शिर्षक नै तीन टुक्रा बनाएर एउटै सामान खरिदका लागि बजेट बाडफाँड गरेको स्रोतको दावी छ ।
इनरुवा नगरपालिकाको एघारौ नगर सभाबाट स्वीकृत आर्थिक वर्ष २०८०/०८१ को बार्षिक निती कार्यक्रम तथा बजेटको सिं नं ७८८ कार्यक्रमको नाम सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड व्यवश्थासन खर्च शिर्षक २२५२९ मा नेपाल सरकार सर्सत अनुदानतर्फको बजेट रकम २ लाख ६८ हजार प्याड खरिदमा विनियोजन गरेको छ ।
यसैगरि सेनेटरी प्याड खरिद गर्न सिं नं ७९० कार्यक्रमको नाम सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड व्यवस्थासन खर्च शिर्षक २२५२९ नेपाल सरकार सर्सत अनुदानतर्फको बजेट रकम ४ लाख ६० हजार विनियोजन गरिएको छ ।
नगरसभाबाट पारित बजेटमा सेनेटरी प्याड खरिदका लागि सिं नं ७९९ कार्यक्रमको नाम सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड व्यवस्थासन खर्च शिर्षक २२५२९ नेपाल सरकार सर्सत अनुदानतर्फको बजेट रकम १४ लाख ८२ हजार रकम विनियोजन गरिएको छ ।
महालेखा परिक्षकको कार्यालयले इनरुवा नगरपालिकाको अघिल्लो दुई आर्थिकको आम्दानी खर्चको मलेप गर्दा सेनेटरी प्याड खरिद प्रकृया र बजेट माथि प्रश्न उठाउँदै आवश्यकताको आधारमा खरिद नभएको भनी अनियमिता भएको प्रतिवेदनमा उल्लेख गरेको थियो ।
महालेखाले विद्यार्थीको माग र आवश्यकताका आधारमा खरिद गर्नुपर्ने सेनेटरी प्याड बजेट फ्रिज हुन नदिने उद्देश्य राखी केवल खरिदका लागि खरिद गर्ने कार्य सार्वजनिक खरिद ऐन विपरित भएको ठहर गरेको छ ।
महालेखाले स्टोरमा अघिल्लो सालको खरिदको अवस्था र वितरणको अवस्था आँकलन नगरि बजेट सक्ने गरि प्याड खरिद प्रकृया अनियमित हुने प्रतिवेदनमा उल्लेख गरेको छ ।
महालेखा परिक्षकले तयार गरेको प्रतिवेदनमा सेनेटरी प्याड वितरण तथा व्यवस्थापन निर्देशिका २०७६ अनुसार सर्सत अनुदान रकमबाट खरिद गरिएको प्याड अघिल्लो वर्षको मौज्दात हुँदा हुँदै पुनः खरिद गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरिएको छ ।
Discussion about this post