जनकपुरधाम । जनमतका मुख्यमन्त्री सतिश सिंहले अन्ततः अर्थ मन्त्रालय दिन तयार भएपछि नेपाली कांग्रेस मधेश प्रदेश सरकारमा ‘इन’ हुँदैछ ।
संघमा गठबन्धन फेरबदलसँगै धरापमा परेको मधेश सरकार जोगाउन जनमतले नेपाली कांग्रेसलाई अर्थ मन्त्रालयसमेत चार र एमालेलाई भौतिक पूर्वाधारसमेत चार मन्त्रालय दिने सहमति गरेको थियो । सहमतिबाट पछि हटेपछि सरकारबाहिरै रहेर समर्थन गर्ने भनेको कांग्रेसले बिहीबार समर्थन फिर्ता लिने तयारी गरेपछि मुख्यमन्त्री पनि गुम्ने डरले जनमत अर्थ दिन तयार भएको हो ।
जनमतले अर्थ दिन तयार भएको जनाए लगत्तै बिहीबारै अपरान्ह ५ बजे नेपाली कांग्रेसका चार जना मन्त्रीले शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
कांग्रेसबाट रौतहटका सुनिल यादव अर्थ मन्त्री हुँदैछन् भने पर्साका जनार्दन क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । त्यस्तै, धनुषाका शेषनारायण यादवले उर्जा, सिँचाई तथा खानेपानी मन्त्री र सर्लाहीका कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
Discussion about this post