बिराटनगर। नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले समाजमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले विशेष सुरक्षा योजना लागू गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन्। असोज १ गते दिउँसो भर्चुअल माध्यमद्वारा आयोजित कार्यक्रममा खापुङले मातहतका जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई चाडपर्वको समयमा कुनै पनि आपराधिक गतिविधि हुन नदिन भरपर्दो सुरक्षा व्यवस्थापन मिलाउन निर्देशन दिए।
खापुङले चाडपर्वलाई सुरक्षित बनाउन आ-आफ्नो कार्यक्षेत्रमा सुरक्षा योजना निर्माण गरी शान्तिसुरक्षा कायम राख्न, जुवातास, कालोबजारी, खुला सिमा नाकाबाट हुने चोरी तस्करी, लागू औषधको ओसारपसार, तथा पटका जस्ता पदार्थको नियन्त्रण गर्न आदेश दिएका हुन्। चाडपर्वको समयमा यात्रुहरुको आवतजावत बढी हुने भएकाले यात्रु सहायता कक्ष स्थापना गरी ट्राफिक व्यवस्थापन सुदृढ गर्नुपर्ने पनि उनले जोड दिए।
उनले प्रहरी सेवालाई अझ प्रभावकारी बनाउँदै सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने, पेण्डिङ मुद्दाको फलोअप गर्ने र फरार अपराधीहरुको खोजी कार्यलाई तीव्रता दिनसमेत निर्देशन दिए। साथै, शून्य सहनशीलताको नीतिलाई पालन गर्दै विभागीय निर्देशनलाई अक्षरशः पालना गर्नुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालसहित वरिष्ठ प्रहरी अधिकारीहरुको उपस्थिति रहेको थियो।
Discussion about this post