दिपेन्द्र यादव /इनरुवा – संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा प्रभातफेरीलगायत विविध कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय प्रमुख राजन मेहताले गरेका थिए भने कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल प्रमुख अतिथि थिए।
दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयबाट सुरु भएको प्रभातफेरी महानन्द पार्कमा झण्डोतोलनसँगै सम्पन्न भएको हो। २०७२ असोज ३ मा जनताद्वारा निर्वाचित संविधान सभाबाट जारी भएको संविधानको सम्झनामा प्रत्येक वर्ष संविधान दिवस मनाइन्छ।
कार्यक्रममा मन्तव्य राख्दै मन्त्री मण्डलले संविधान राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहेको बताए। उनले संविधानमा भएका प्रावधान र कानुनहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। जिल्ला समन्वय प्रमुख मेहताले संविधानमा संशोधन गरी सबैको माग सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए।
इनरुवा नगर प्रमुख केदार भण्डारीले संविधानले सङ्घीय शासन व्यवस्था र समावेशी प्रतिनिधित्व सुनिश्चित गरे पनि यसको कार्यान्वयनमा समस्या देखिएको बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी उपरीक्षक विपिन रेग्मी, इनरुवा उपप्रमुख विनीताकुमारी मेहता, सरकारी कार्यालयका प्रमुखहरू, पत्रकार, उद्योग वाणिज्य संघका प्रतिनिधि, नागरिक समाज र स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता थियो।
Discussion about this post