दिपेन्द्र यादव/इनरुवा — सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा संविधान दिवस २०८१ को अवसरमा विशेष दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ। सोमबार साँझ ६:०० बजे गाउँपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, र स्थानीय समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो।
अध्यक्ष आजादले संविधान दिवसको महत्त्वमाथि प्रकाश पार्दै यसलाई “राष्ट्रिय एकता, समृद्धि, र शान्तिको प्रतीक” भने। उनले संविधानलाई नागरिक अधिकारको रक्षक र लोकतन्त्रको मेरुदण्डको रूपमा वर्णन गर्दै भने, “संविधान हाम्रा अधिकारहरूको संरक्षण गर्ने मूल दस्तावेज हो, जसले लोकतन्त्र र नागरिक स्वतन्त्रतालाई मजबुत बनाउँछ। यस दिनलाई हामीले राष्ट्रिय गौरवको रूपमा मनाउनु पर्छ।”
उनले नयाँ पुस्ताले संविधानको रक्षा र सम्मान गर्नुपर्ने जिम्मेवारीबोध गर्नुपर्नेमा पनि जोड दिए।
कार्यक्रममा उपस्थित सहभागीहरूले दिप प्रज्ज्वलन गर्दै शान्ति र समृद्धिको संदेश फैलाएका थिए। अध्यक्ष आजादले भविष्यमा गाउँपालिकालाई थप समृद्ध बनाउन आफू प्रतिबद्ध रहेको र नागरिकका आवश्यकताहरू पूरा गर्न सधैं तत्पर रहने बताए ।
Discussion about this post