इनरुवा – सुनसरी जिल्लामा आज विधिपूर्वक छठ पर्व सम्पन्न भएको छ। यस अवसरमा लाखौं श्रद्धालुहरूले उदीयमान सूर्यलाई अर्घ दिँदै सूर्य देवतालाई पूजा अर्चना गरे। पर्वको अन्तिम दिन उदीयमान सूर्यलाई अर्घ दिई पर्वको समापन गरियो।
धरान, इटहरी, इनरुवा, दुहबी, रामधुनी, बराहक्षेत्र, भोकाहा, नरसिंह, कोशी, देवानगञ्ज लगायतका विभिन्न नगरपालिकामा छठ पर्वको विशेष रौनक देखिएको थियो। प्रत्येक स्थानमा परिवारका सदस्यहरूले एकजुट भएर व्रत, उपवास र स्नान गरी सूर्य देवतालाई अर्घ दिने अनुष्ठान पूरा गरे। पर्वको यो अवसरले सामाजिक एकता र पारिवारिक सम्बन्धलाई प्रगाढ बनाएको छ।सुनसरी जिल्लामा छठ पर्वलाई अझ विशिष्ट बनाउने काम जलाशय किनारमा छठ घाटहरूको निर्माण कार्यले गरेको छ। सुनसरी खोला, गडन खोला, बुढी खोला, कोसी ब्यारेज र अन्य जलाशय किनारमा बाँस र केराको थम गाडेर छठ घाटहरूको निर्माण तीव्रतासाथ गरिएको थियो। स्थानीय बिरेन्द्र यादवले बताएअनुसार, पर्वको तयारीका क्रममा विभिन्न स्थानमा घाट निर्माण कार्य सम्पन्न भएको छ। त्यस्तै, पानीको अभाव भएका क्षेत्रमा कृत्रिम पोखरी बनाएर छठ पूजा तयारी गरिएको नेपाली काँग्रेसका भोकाहा नरसिंह गाउँ इकाई सभापति युवराज दाहालले जानकारी दिए।यता सुनसरी जिल्लाभर छठ घाटहरूको निर्माण कार्य व्यापक रूपमा गरिएको छ। शङकरपुर शाखा नरह अन्तर्गत रामधुनी, डुम्राहा, बलाहा, गौतमपुर लगायतका स्थानमा सयौं घाट तयार पारिएका छन्। सितागञ्ज शाखा नहर, सुखसेना शाखा नहर, शंकरपुर शाखा नहर र हरिपुर शाखा नहरका किनारमा पनि हजारौं श्रद्धालुहरूको लागि छठ घाट निर्माण कार्य सम्पन्न भएको छ।
सुरक्षा र स्वास्थ्यका दृष्टिले प्रशासनले विशेष तयारी गरेको थियो। विभिन्न स्थानमा स्वास्थ्य शिविरहरू स्थापना गरी सुरक्षा बलको कडा निगरानीमा पर्वको तयारी र समापन गरिएको थियो। स्थानीय प्रशासनको प्रयासले छठ पर्व शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ।
Discussion about this post