काठमाडौं। कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको प्रत्यक्षदर्शी भएको दाबी गर्ने नवराज अर्याल पक्राउ पश्चात् फरार भएका छन्। गोरखा स्थायी घर भएका अर्याललाई प्राइम टेलिभिजनको कार्यक्रममार्फत अफवाह फैलाएको आरोपमा मङ्गलबार पक्राउ गरिएको थियो।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होबिन्द्र बोगटीका अनुसार, अर्याललाई चार घण्टासम्म सोधपुछ गरेपछि आज उपस्थित हुने सर्तमा छाडिएको थियो। तर, उनी आज फेरि फरार भएका छन्। अर्यालले मोबाइल घरमै छोडेर हिँडेका छन्। सीआईबीका अनुसार, उनका भनाइहरू काल्पनिक र वास्तविकता विपरीत देखिएका छन्।
प्राइम टेलिभिजनमा दिएको अन्तर्वार्तामा अर्यालले आफू १६ जना मन्त्रीको गाडी चलाउने चालक भएको र कञ्चनपुरमा निर्मलाको बलात्कारको घटनालाई प्रत्यक्ष देखेको दाबी गरेका थिए। तर, प्रहरीका अनुसार उनका भनाइहरू झुटा र काल्पनिक थिए।
यसैगरी, प्राइम टेलिभिजनका प्रमुख ऋषि धमलालाई पनि गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा सीआईबीले नियन्त्रणमा लिएको छ।
Discussion about this post