मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा नं -६ नारायणपुरका व्यापारी तथा समाजसेवी स्व. रतनसिंह कडायतकाे स्मृतिमा ट्राफिक प्रहरी आइल्याण्ड हस्तान्तरण गरिएको छ ।
स्व. कडायतकाे धर्मपत्नी रम्भा कडायत र जेठा छाेरा किरण कडायतले एक कार्यक्रमका बिच टिकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र बहादुर रावल र सुदुर पश्चिम प्रदेश ट्राफिक कार्यालय प्रमुख एसएसपी प्रविण धिताललाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले टीकापुरमा सडक दुर्घटनाका घटना बढ्दै गैरहेकाे अवस्थामा ट्राफिक प्रहरी आइल्याण्ड निर्माणले सडक दुर्घटनामा कमी आउने बताए । जनताको जिउधनकाे सुरक्षाको लागि सडकमा अहाेरात्र खटिने ट्राफिक प्रहरीको लागि आवश्यक पर्ने सहयोगका लागि स्थानीय सरकार तयार रहेको बताए ।
विशिष्ट अतिथि रहेका सुदुर पश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख एसएसपी प्रविण धितालले सडकमा माेटरसाइकल दुर्घटनाको प्रमुख कारण तिव्रगतिमा माेटरसाइकल हाँक्नु रहेको बताउँदै हुलाकी सडकको चाैबाटाेमा स्थापना भएको ट्राफिक प्रहरी आइल्याण्ड निर्माणले दुर्घटना कमि हुने बताए ।
कार्यक्रममा टिकापुर नगरपालिकाका नगर उप प्रमुख केशरी बिष्टले समाजसेवी स्व. रतनसिंह कडायतकाे स्मृतिमा ट्राफिक प्रहरी आइल्याण्ड निर्माण गरिनु सराहनीय काम भएको बताउँदै यस्तो सराहनीय कामको अनुशरण अरुले पनि गर्नुपर्नेमा जाेड दिइन् । कार्यक्रममा टिकापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामलाल डगाैरा थारुले अस्थाई टोलीका ट्राफिक प्रहरी सत्तिले ट्राफिक जनचेतनामूलक काम गरेको उल्लेख गर्दै ट्राफिक प्रहरीलाई वडाको तर्फबाट पनि कैलाली र बर्दिया जिल्ला जाेड्ने कर्णाली पुलमा बिट सहयोग गरेको बताए ।
स्व. रतनसिंह कडायतका दाइ तथा काँग्रेस नेता फकिरसिंह कडायतले समाजलाई याेगदान दिने व्यक्ति समाजमा सदा स्मरणीय हुने बताउँदै ।सामाजिक कामकाे लागि स्व रतन कडायत सँधै अग्रसर हुने भएकोले उनका परिवारले पनि अनुशरण गरेकोमा खुुसी व्यक्त गरे ।
आइल्याण्ड हस्तान्तरण पछि कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिले आइल्याण्ड हस्तान्तरणकर्ता रम्भादेवि कडायत र किरण कडायतलाई दाेसल्ला ओढाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरिक्षक वकिल बहादुर सिंहले गरेका थिए भने संचालन ट्राफिक प्रहरी कार्यालय लम्किका प्रमुख कृष्ण पुजाराले गरेका थिए । ट्राफिक प्रहरी आइल्याण्ड निर्माणका लागि समन्वय अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिका ट्राफिक प्रहरी प्रमुख किशोर बहादुर सिंह र ट्राफिक प्रहरी देवी धितालले गरेका थिए ।
खक्राैला टिकापुर र भजनि सत्ति सडक खण्डको खैरिपुर चाेकमा स्थापित ट्राफिक प्रहरी आइल्याण्ड निर्माणमा १ लाख २० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ ।
कार्यक्रममा टिकापुर नगरपालिकाका विभिन्न वडाका अध्यक्ष ,व्यापारिक प्रतिष्ठानका संचालक, सामाजिक तथा राजनैतिक अगुवा ,बडघर र संचारकर्मिहरुकाे उपस्थिति रहेको थियो ।
Discussion about this post