इनरूवा । नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बुधबार सुनसरी शाखाले प्रभातफेरी कार्यक्रम समापन भएको छ ।
कार्यक्रम समापनसँगै नेपाल पत्रकार महासंघ सुनसरीले इटहरीमा महासंघको प्रादेशिक आवाशिय तालिम केन्द्र भवन निर्माण गर्ने अवधारणा अघि बढाएको छ । इटहरी उपमहानगरपालिकाले महासंघलाई बालग्राम चौक उत्तरजाने बाटोमा १ कट्ठा ६ धुर उपलव्ध गराएको जग्गामा बन्ने भवन निर्माणको तयारी थालिएको हो ।
पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आयोजित प्रभातफेरी समापनसंगै निर्माणस्थलको अवलोकनका क्रममा निर्माण समिति संयोजक, महासंघका उपसभापति गणेश निरौलाले उक्त जानकारी दिए । तिन तलाको भवनमा भुई तला महासंघको सम्पर्क कार्यालय, पहिलो तलामा आवासीय कोठाहरु र माथिल्लो तलामा तालिम, सेमिनार हल रहने डिजायन नक्सा बनिरहेको उनले बताए ।
भवन निर्माणस्थलमा हाल उपमहानगरपालिकाको ५ लाख रुपया अनुदानमा कम्पाउण्ड पर्खाला लगाउने कार्य भैरहेको छ । अग्रज पत्रकार कृष्णविनोद लम्सालले १ लाख रुपैयाँ लागतको कम्पाउण्ड वालमा मुलगेट निर्माण गरिदिने वचन दिएका छन् । भवनको डिजायन बनेपछि स्थानिय दाताहरुको सहयोग, उपमहानगरपालिका, प्रदेश सरकार, संघीय सरकारको सहयोगमा भवन निर्माणको प्रकृया अघि बढाइने बताइएको छ ।
यसअघि इटहरी उपमहानगरपालिका अगाडि भेला भएका सञ्चारकर्मीहरुको प्रभात फेरीले इटहरी बजार परिक्रमा गरी मामा मार्केटमा कोणसभा गरेको थियो । महासंघका जिल्ला सभापति जनकऋषि राईको सभापतित्वमा भएको सभामा केन्द्रिय सदस्य अमर खड्काले कोरोना महामारीले नेपाली पत्रकारीतालाई ठूलो संकटमा पारेको बताउँदै त्यो संकटबबाट माथी उठ्ने चुनौती झेलिरहेको बताए ।
महासंघ प्रदेश समितिका सचिव देवेन्द्र कार्कीले अभिव्यक्ति र प्रेस स्वतन्त्रताका लागि सडक आन्दोलनबाट भूमिका खेलेको पत्रकार महासंघको भूमिका सधैं ने खवरदारी गर्ने रहदै आएकोले त्यसप्रति सबै प्रभिबद्ध रहन आव्हान गरे । पूर्व जिल्ला सभापति हर्ष सुब्बाले पत्रकार संघ २०५३ सालमा धरानबाट महासंघ बनेको स्मरण गराउँदै त्यो इतिहासलाई पनि स्थापना दिवसका दिन सम्झना गर्नुपर्ने बताए । सभा सचिव ध्रुव ढकालले सञ्चालन गरेका थिए ।
प्रभातफेरीमा शाखा सुनसरीका पूर्वअध्यक्षहरू वरिष्ठ पत्रकारसहित महासंघ आवद्ध पत्रकारहरू सहभागी भई नगर परिक्रमा गरेका थिए ।
Discussion about this post