सन्तोष मेहता/विराटनगर । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मोरङमा आज बिहानदेखि मतदानस्थलको औपचारिक निरीक्षण र अनुगमन गर्न थालिएको छ । जिल्ला सुरक्षा समितिका पदाधिकारीले निरीक्षण थालेका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रमुख सेनानी अमृत थापा, नेपाल प्रहरीका प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धान प्रमुख एसपी बासु सिग्देल लगायत निरीक्षणमा सहभागी हुनुहुन्छ । बूढीगंगा गाउँपालिकाबाट निरीक्षण सुरु गरिएको जानकारी प्रजिअ दाहालले दिनु भयो । उहाँका अनुसार पहिलो चरणमा बूढीगंगा र ग्रामथान गाउँपालिका तथा सुन्दरहरैँचा नगरपालिकाका मतदानस्थलको निरीक्षण गरिने छ । बूढीगंगामा १२, ग्रामथानमा १५ र सुन्दरहरैँचामा २५ वटा मतदानस्थल रहेको दाहालले बताउनु भयो । निरीक्षणमार्फत मतदानस्थलको अवस्था, खानेपानीको सुविधा, सञ्चारको उपलब्धता र सुरक्षा वस्तुस्थितिका बारेमा जानकारी लिने काम भइरहेको उहाँको भनाइ छ । मतदानस्थलको अवस्था र त्यहाँका समस्याका बारेमा जानकारी लिएर उचित सुरक्षा व्यवस्थापन गर्दै निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि मतदानस्थलको अनुगमन एवं निरीक्षणलाई प्राथमिकतामा राखिएको दाहालले बताउनु भयो । उहाँका अनुसार कम्पाउन्डवाल र घेराबेरा नगरिएका तथा सुधार गर्नुपर्ने मतदानस्थलको व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तहलाई आग्रह गरिने छ । मोरङमा तीन सय मतदानस्थल र आठ सय २० वटा मतदान केन्द्र रहेका छन् । प्रजिअ दाहालले सुरक्षा संयन्त्रको पहुँच, विगतका घटनालगायतलाई दृष्टिगत गरेर मतदानस्थलमा शान्ति सुरक्षाको व्यवस्था मिलाइने जानकारी दिनुभयो । मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षामा कुनै कमजोरी हुन नदिने उहाँको भनाइ छ ।
Discussion about this post