विराटनगर । दिनदहाडै खुकुरी प्रहार गरेको आरोपमा विराटनगरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर–८ का २० वर्षीय मो.साराजुनलाई पक्राउ गरेको हो ।
कमिसन भन्दै ५ हजार रुपैयाँ नदिँदा पक्राउ परेका साराजुनसहितका दुई जनाले विराटनगर ८ अशोक चौकका ५२ वर्षीय अफाक आलमलाई कार्तिक २४ गते विहान खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गरेपछि साराजुन भारततर्फ फरार भएका थिए ।
फरार रहेका उनी घर आएको सूचना प्रहरीले पाएपछि आइतबार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । घटनामा संलग्न अर्का एक जना फरार छन् । फरार भएकाको पनि प्रहरीले खोजी कार्य तीव्र बनाएको बताएको छ ।
आक्रमण गर्नेमध्ये पनि मुख्य व्यक्ति साराजुन रहेको घाइते भएका आलमले बताएका छन् । कात्तिक २४ गते विहान सबेरै खाना खाएपछि अफिस हिँडेका आलममाथि आक्रमण भएको हो । उनी इटहरीस्थित बुलेट मोटसाइकलको शोरुम ‘रोयल इन फिल्ट’ मा काम गर्दै आएका छन् ।
घरबाट स्कूटी लिएर अफिस हिँडेको २० मिनेट बित्न नपाउँदै उनी आक्रमणमा परेका थिए । साराजुनसहितको समूहले घरदेखि करिब २ किलोमिटर उत्तरमा रहेको हरिहर चौकमा आलममाथि खुकुरी प्रहार गरेको थियो ।
घाइते भएका आलमको खुट्टा, हात, शरिरको विभिन्न भागमा चोटपटक लागेको थियो । उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भएको थियो ।
आलमका अनुसार आक्रमण गर्नेमध्ये मो. साराजुनले मागेको ५ हजार रुपैयाँ नदिदा केटाहरु ल्याएर आक्रमण गरेका हुन् । मोटसाइकल शोरुममा मोटसाइकल सर्भिस गर्न पठाएवापत कमिसन नदिएको भन्दै आक्रमण भएको हो ।
Discussion about this post