सन्तोष मेहता/विराटनगर । विराटनगर महानगरपालिका–९ स्थित अस्पताल चोकमा रहेका पसल र होटलमा गय राति आगलागी भएको छ । आगलागीमा परेर दुईवटा होटल, एउटा कपडा तथा एउटा किराना एवं भाँडा पसल जलेर ध्वस्त भएका छन् । ग्यास शिलिन्डर विष्फोट हुँदा आगो फैलिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार आगलागी राति १२ः१५ बजेतिर सुरु भएको हो । दमकल, स्थानीय र प्रहरीको सक्रियतामा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको उहाँले बताउनु भयो । उहाँका अनुसार आगोले १ करोड ८ लाखभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ । श्रेष्ठले शोभादेवी घिमिरेको जग्गामा बनेको घरमा सञ्चालन गरिएका होटल तथा पसलहरु आगोले ध्वस्त बनाएको बताउनु भयो । आगोले घरमा पूर्ण रूपमा क्षति पुर्याउँदा ४० लाख बढीको क्षति भएको छ । शोभादेवीका छोरा कुमारप्रसाद घिमिरेले सञ्चालन गरेको किराना पसल, विराटनगर–८ का छविलाल उप्रेतीको कपडा तथा भाँडा पसल, विराटनगर–७ का विनोद राजवंशीले सञ्चालन गरेको न्यू राजवंशी होटल र विराटनगर–८ का दीपनारायण राजवंशीले सञ्चालन गरेको दिपेश होटल आगोले ध्वस्त बनाएको छ । आगलागी हुँदा घिमिरेको पसलभित्र रहेको नगद ५ लाख जलेको छ । पसलमा २० लाखभन्दा बढीको क्षति पुगेको प्रहरीको भनाइ छ । डीएसपी श्रेष्ठका अनुसार आगलागीका कारण उप्रेतीको पसलमा २५ लाख २७ हजार, विनोदको होटलमा १२ लाख र दीपनारायणको होटलमा ११ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार आगो नियन्त्रणमा लिने क्रममा दमकलका तीन जना कर्मचारी घाइते भएका छन् । दमकलबाट पानी हालेर आगो निभाउने क्रममा विराटनगर–४ का ३७ वर्षीय भीम विष्ट, विराटनगर–२ का ३७ वर्षीय अशेष दाहाल र सुनसरी दुहवी–१२ का १९ वर्षीय प्रेमकुमार राजवंशी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको म्याक्स अस्पतालमा उपचार भइरहेको डीएसपी श्रेष्ठले बताउनु भयो । घाइतेको अवस्था सामान्य छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ । प्रहरीले पसल र होटल बन्द रहेको अवस्थामा राति विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।
Discussion about this post