इनरुवा । स्थानीय तह निर्वाचन २०७९ को मिति नजिकिँदै जाँदा सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको मेयर बन्नका लागि नेकपा एमालेबाट ११ जनाले दाबेदारी पेश गरेका छन् ।
आउने बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि प्रमुख र उप प्रमुख सबैको नाम नगर कमिटीले जिल्ला कमिटीलाई सिफारिस गरी सकेको छ ।
इनरुवाको लागि एमालेबाट प्रमुखमा ११ जना र उप प्रमुखमा ५ जनाको नाम सिफारिसको सूचीमा रहेको छ । आकांक्षी धेरै देखिएकाले उम्मेद्वारको अन्तिम टुङ्गो भने अहिले सम्म लाग्न सकेको छैन । नगर कमिटीले इनरुवाको मेयर पदको आकांक्षी मध्ये पहिलो नम्बरमा प्रेम पौडेलको नाम सिफारिस गरेको छ ।
जिल्ला कमिटीलाई सिफारिस नामावली तर्फ क्रमशः खेमराज पोखरेल, पोष्टकुमार नेपाल, सरोज पोखरेल, निरा आचार्य, इन्द्र पोखरेल, रामप्रसाद मेहता, पर्शुराम यादव, लोकेश निरौला, हरिनारायण चौधरी र मनोज मेहता रहेका छन् ।
एमालेबाट इनरुवाको मेयरमा देखिएका आकांक्षी मध्ये प्रेम पौडेल, खेमराज पोखरेल, सरोज पोखरेल र इन्द्र पोखरेलको नाम बढी चर्चामा छ । मेयरको टिकटकै आशमा हाल सालै एमाले प्रवेश गरेका मनोज मेहता प्रति भने केहि बाहेकका अधिकांश पार्टीका अग्रज नेता तथा आम कार्यकर्ताको फरक मत रहेको छ ।
पार्टी भित्र अग्रज नेताहरु हुँदाहुँदै हालसालै प्रवेश भएका मेहतालाई उम्मेद्वार बनाइनु नहुने उनीहरुको साझा धारणा रहेको छ । यद्यपि अर्को पटकको सम्भावित उम्मेद्वारको रुपमा भने मेहतालाई अघि सार्न सकिने उनीहरुको भनाई छ ।
स्वार्थपरक राजनीति र टुरिष्ट उम्मेद्वारको छवि बनाएका मेहताले टिकट पाए पार्टी भित्रैबाट अन्तरघातको सम्भावना रहेकाले समेत उहाँको टिकटमा पार्टीले दाउ खेल्ने अवस्था नरहेको जिल्ला तहका नेताहरुको भनाई छ ।
इनरुवा एमालेमा पोष्टकुमार नेपालको समेत नाम चर्चामा आउने गरेपनि पार्टी भित्र उहाँको दाबेदारीलाई कमजोर आंकिएको पाइएको छ । यद्यपि उहाँले दाबेदारीमा भने जोडबल गरिरहेको बुझिएको छ । यावत कारणले इनरुवा एमाले तर्फको नगर प्रमुखमा खेमराज पोखरेल वा सरोज पोखरेल मध्ये एकले टिकट पाउने अधिकांशको आंकलन छ ।
यसैगरी इनरुवाको उपप्रमुख पदमा सिफारिस भएका महिला तर्फका आकांक्षी मध्ये सरिता कार्की घिमिरे अग्रस्थानमा रहेकी छिन । पार्टी भित्र उहाँको चर्चा बढेको छ । त्यसैगरी उपप्रमुखमा सिफारिमा परेकाहरुमा शकुन्तला भण्डारी, रेखादेवी मेहता, कालिका तिम्सिना र टिका शिवाकोटी आचार्य रहेका छन् । नगर कमिटीले उम्मेद्वार चयन सर्वसम्मत गर्ने प्रयास गरेपनि हालसम्म सम्भव हुन भने सकेको छैन ।
आकांक्षीहरुले आफ्नो दाबेदारी नछाडेकाले अन्तिम टुङ्गो लगाउन ढिलाई भैरहेको एमाले सुनसरीले जनाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा नगर प्रमुख तर्फ नेपाली काङग्रेसले जित हात पारेको थियो । प्रमुखमा राजन मेहता १० हजार ९ सय ८७ मतका साथ बिजयी बनेका थिए ।
प्रत्यासी एमालेका पोष्टकुमार नेपालले ९ हजार ८ सय १३ मत ल्याएका थिए । हालसालै एमाले प्रवेश गरेका मनोज मेहताले सो निर्वाचनमा २ हजार ६ सय १५ मत ल्याएका थिए । मेहता सो बखत लोकतान्त्रिक फोरमबाट मेयरको उम्मेद्वार रहेका थिए ।
निर्वाचन आयोगद्वारा जारी नामावली अनुसार बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने इनरुवा नगरपालिकाको कुल मतदाता संख्या ४४ हजार ३ सय ६६ रहेको छ ।
Discussion about this post