इनरुवा । सुनसरीका १२ वटै स्थानीय तहहरुको केन्द्र रहेको ठाउँमा विहीबार निर्वाचन अधिकृतको कार्यालय संचालन गर्न लागेको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीले बुधबार गरेको स्थानीय संचारकर्मीसंगको अन्तरकृया कार्यक्रममा दिएको जानकारी अनुसार विहीबार १२ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय संचालन गर्ने भएको हो । जिल्लाको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, बराहक्षेत्र, रामधुनी, इनरुवा र दुहवी नगरपालिका तथा गढी, बर्जु, देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा एक साथ निर्वाचन अधिकृतको कार्यालय संचालन गर्न लागेको निर्वाचन अधिकारी कृष्ण सुवेदीले जानकारी दिए । उपमहानगरपालिका , नगरपालिका र गाउँपालिकाको प्रशासकीय भवन रहेको ठाउँमा वा आसपासको सार्वजनिक भवनमा मतदान अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ ।
जिल्लाका सबै स्थानीय तहमा निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकिसकेको छ । बैशाख ८ गते सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय संचालन गर्ने निर्देशन अनुसार मूख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको भवनमा र अन्य पालिकाको समन्वयमा निर्वाचन अधिकृतको कार्यालय संचालन गर्न लागेको छ ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचनका लागि एकिकृत सुरक्षा योजना लागु भएको जानकारी दिए । निर्वाचन भय रहित तवरले सम्पन्न गर्नका लागि एकिकृत सुरक्षा योजना लागु भएको र निर्वाचन सम्पन्न भएपछि नयाँ जनप्रतिनिधिहरुको पदस्थापनासम्म जारी रहने जानकारी दिए । प्रजिअ यादवले शान्तीपूर्ण, धाधली रहित र निर्वाचन भयमुक्त वतावरणमा सम्पन्न गर्नका लागि आफूहरु लागि परेको र सबैको समन्वय, सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा दिएको जानकारी अनुसार धरान उपमहानगरपालिकामा पुष्करराज नेपाल, इटहरी उपमहानगरपालिकामा नारायण रिमाल, बराहक्षेत्रमा रमेश श्रेष्ठ, रामधुनीमा बिजयराज सुवेदी, इनरुवामा कैलाश प्रसाद सुवेदी र दुहवी नगरपालिकामा षडकुमार पोखरेल निर्वाचन अधिकृतको रुपमा रहेका छन् । त्यसैगरी गढीमा भेषराज भट्टराई, बर्जुमा कृष्ण पौडेल, देवानगञ्ज जोरासिंह माझी, हरिनगरमा मोहन प्रसाद घिमिरे, कोशीमा एकराज अधिकारी र भोक्राहा नरसिंह गाउँपालिकामा मोहन बहादुर अधिकारी रहेको जिल्ला निर्वाचन अधिकारी कृष्ण सुवेदीले जानकारी दिए ।
Discussion about this post