जनकपुर / सत्तारुढ गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टीलाई दिने निर्णयपछि नेपाली कांग्रेसका कार्यकर्ताहरु स्थानीय तहको निर्वाचनमा केन्द्रीय हस्तक्षेपको विरुद्धमा काँग्रेस सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ। जनकपुरधाममा नेपाली कांग्रेसका कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै स्थानीय मुरली चोकमा कांग्रेसका कार्यकर्ताहरुले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाको विरुद्धमा प्रदर्शन गरेका हुन्।
आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि सत्तारुढ दलहरुबीच जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व जनता समाजवादी पार्टी नेपाललाई दिने निर्णय गरेसँगै जनकपुरधाममा कांग्रेसका नेता कार्यकर्ताहरु आक्रोशित भएका छन्। गठबन्धनले पार्टी कार्यकर्ताहरुको भावनासँग खेलवाड गरेको भन्दै उनीहरुले टायर बालेर सभापति शेरबहादुर देउवा र गठबन्धन विरुद्ध नाराबाजी गरेका छन्।
उनीहरुले नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेशको दलालसंग गठबन्धन गर्न पाइँदैन लगायतका नारा समेत लगाएका थिए। कांग्रेस जनकपुरधामका नगर कोषाध्यक्ष वीरेन्द्र यादवले जनकपुरधाममा नेपाली कांग्रेस एक्लै चुनाव लड्न सक्ने अवस्थामा रहेपनि यो पालिका अन्य दललाई दिनु निन्दनीय रहेको बताए।
केन्द्रीय गठबन्धनले पार्टीका स्थानीय नेता कार्यकर्ताको भावनासंग खेलवाड गरेकोले आफूहरु विरोधमा उत्रेको यादवले बताए।
Discussion about this post