सुनसरी । गाउँपालिका अध्यक्ष छनौटमा षडयन्त्र भएको भन्दै नेपाली काँग्रेस बर्जु गाउँपालिकाका नेता तथा कार्यकर्ताहरु रुष्ट बन्दै राजिनामा दिने तयारी गरेका छन् ।
नेपाली काँग्रेस नेता तथा कार्याकर्ताहरुले शनिबार राति छलफल गर्दै पार्टीबाट राजीनामा दिने निर्णय गरिएको छ । विजय कुमार गच्छदारको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल पक्षधरका नेता तथा कार्यकर्ताले बर्जु गाउँपालिकामा नेपाली काँग्रेसलाई तल देखाउने प्रवृती हावी भएपछि सामुहिक राजिनामा दिने तयारी गरेका छन् ।
गत २०७४ स्थानीय तहको निर्वाचनमा विजय कुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जन अधिकार फोरम नेपालपार्टी बाट गाउँपालिका अध्यक्षमा रघुनन्दन चाैधरी र उपाध्यक्षमा संगिता कुमारी राय निर्वाचित भएका थिए । गत स्थानीय तहको निर्वाचन पछि तत्कालीन फोरम नेपाल र नेपाली काँग्रेसबीच एकीकरण भएको छ ।
विगत लामो समयदेखी नेपाली काँग्रेसमा आबद्ध भएका नेताहरुलाई गाउँपालिकामा उम्मेदवार नबनाएको र तत्कालीन फोरम नेपालका नेताहरुलाई उम्मेदवार बनाएपछि गाउँपालिकामा विवाद उत्पन्न भएको हो । उनीहरुले पार्टी एकीकरण भएपनि नेताहरुलाई बराबर उम्मेदवार बनाउने माग राखेका थिए । उनीहरुको मागलाई बेवास्ता गरिदिएपछि पार्टीबाट राजिनामा दिने निर्णय लिएको समाचार श्रोतले जनाएको छ ।समाचार श्रोतका अनुसार आइतबार उनीहरुले २ बजेसम्ममा सामुहिक राजिनामा दिने तयारीमा छन् । उनीहरुले राजिनामा दिएपछि नेकपा एमाले प्रवेश गर्ने सम्भावना बलियो रहेको समाचार श्रोतले जनाएको छ ।उनीहरुले राजिनामा दिएपछि आफ्ना पक्षधरका उम्मेदवारहरुलाई नेकपा एमालेसँग समन्वय गरेर अगाडि बढाउने बताइएको छ । उम्मेदवारको विषयमा एमालेसँग छलफलमा माग बमोजिम सम्झौता नभए स्वतन्त्र रुपमा उम्मेदवारलाई उठाउने तयारीमा छन् । राजिनामा दिने तयारीमा करिब ५ हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरु रहेका छन् ।
Discussion about this post