अजमल अन्सारी/बैशाख
सुनसरी । नेपाल कम्युनिस्ट पार्टी एमाले नेतृ तथा सुनसरीका चर्चित सामाजिक अभियन्ता सहजादी प्रवीणले नेपाली काँग्रेसको पछाडि नलाग्न इनरुवाका मुस्लिम समुदायमा आग्रह गरेकी छिन् । उनले नेपाली काँग्रेस पार्टीले भोटका लागि मात्रै मुस्लिम समुदायलाई प्रयोग गर्दै आएकोले इनरुवाबाट काँग्रेसको पत्तासाफ गर्न मुस्लिम समुदायमा आग्रह गरेकी छिन् ।
नेकपा एमालेका तर्फबाट इनरुवा नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार समेत बनेकी सहजादीले इनरुवामा विगत लामोदेखि हालसम्म नेपाली काँग्रेसले भोटका लागि मुस्लिम समुदायलाई प्रयोग गर्दै आएको बताइन् । काँग्रेसले मुस्लिम समुदायका ठेकेदारहरुलाई विभिन्न प्रलोभनमा पारेर आम मुस्लिम समुदायको भोट प्रयोग गर्ने गरेको उनले बताइन् ।
इनरुवामा तथ्यांक अनुसार मुस्लिम समुदाय तेस्रो स्थानमा भएपनि मुस्लिम समुदायलाई पछाडि धकेल्ने काम काँग्रेसले गरेको बताइन् । उनले आफू विगतमा नेपाली काँग्रेसमा आबद्ध भएर कार्यसमितिको जिल्ला सदस्य समेत बनेर काम गरेकी सहजादीले इनरुवा नगरपालिकामा मुस्लिम समुदायलाई काँग्रेसले अगाडि बढाउने मन्शायमा समेत नरहेको उल्लेख गर्नुभयो ।
इनरुवा नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार सहजादीले सबैलाई अटाउने काँग्रेस भन्ने नारा काँग्रेसको ठेकेदारको लागि मात्रै फलदायी भएको बताइन् । उनले इनरुवामा मुस्लिम समुदायलाई भोटका लागि प्रयोग गर्ने तर मुस्लिम समुदायलाई नेतृत्व गर्न नदिने आरोप लगाएकी छिन् । उनले काँग्रेसका ठेकेदारहरुले मुस्लिम समुदायका अगुवालाई विभिन्न प्रलोभनमा पारेर गरिब तथा विपन्नको भोट प्रयोग गर्ने पुरानो रणनीति रहेको बताइन् ।
सहजादीले मुस्लिम समुदायलाई यस्ता ठेकेदारबाट टाढा हुनुपर्ने र देश विकास गर्ने पार्टीलाई रोजे मात्रै देशमा विकास परिवर्तन हुने बताइन् । उनले मुस्लिम समुदायमा काँग्रेसका उम्मेदवारले मत माग्न आउदा कडा प्रश्न गर्न समेत आग्रह गरेकी छिन् ।
सहजादीले इनरुवामा काँग्रेसले मुस्लिम समुदायका जनतालाई ओझेलमा पार्दै आएको बताइन् । उनले काँग्रेसको मासु भातमा नरमाए मुस्लिम समुदायबाट काँग्रेसको पत्ता साफ हुने उनले दाबी गरेकी छिन् । उनले मुस्लिम समुदायका जनताले काँग्रेसको भ्रममा नपरे मात्रै इनरुवामा मुस्लिम समुदायको मुहान फेर्ने बताइन् ।
सहजादीले समृद्ध इनरुवा, सुखी इनरुवा बनाउन एमालेका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताइन् । निर्वाचनमा मुस्लिम समुदायका जनतालाई एमालेको उम्मेदवारलाई सुर्य छापमा मतदान गरेर निर्वाचित गर्न आग्रह गरेकी छिन् ।
Discussion about this post