रबिन्द्र यादव / नवलपरासी पश्चिम ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ बैदौलीबाट ठुलो मात्रामा लागू औषध सहित २ जना पक्राउ परेका छन् ।
मंगलबार करीब ११ बजेको समयमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापुर गाँउपालिका वडा नं. ५ बैदली स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको युपी ५६ एएन ३९४२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध फेला परेको हो ।
मोटरसाईकलको डिक्की भित्र रहेको झोलामा डाईजापाम १७५ एम्पुल, फेनारगन १७५ एम्पुल र नुफिन १७५ एम्पुल अवैध लागुऔषध फेला पारेको हो । प्रहरीले तत्काल मोटर साईकल चालक भारत जिल्ला महाराजगंज ग्राम रेगंहीया बस्ने बर्ष २० को भोलु चौहानलाई पक्राउ गरेको थियो । सोही मोटरसाईकल पछाडी सवार भारत जिल्ला गोरखपुर बस्ने वर्ष १९ को राकेश सहानी समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुबै जना विरुद्ध लागुऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिए । जिल्लामा लागू औषध बिक्री गर्दै आएका दुबै भारतीय नागरिकलाई नियन्त्रणमा लिइ अनुसंधान कार्य अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको हो ।
यसअघि जिल्ला प्रहरी कार्यालय परासीको टोलीले सुराकीको अधारमा रामग्राम नगरपालिका वडा नं ६ पोखरापालीबाट ठुलो मात्रामा लागु औषध सहित दुई जनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख एसपी ऋषिराम कंडेलको जिल्ला आगमन संगै धमाधम लागू औषध कारोबारीलाई पक्राउ गरि कारागार चलान पठाउन थालिएको हो । एसपी कंडेल आए देखि एकपछि अर्को सफलता हासिल गर्दै गएका छन् ।
Discussion about this post