काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९मा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको ठूलो बजेट वर्षयाम लागेपछि नै खर्च हुने भएको छ । चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब ३ करोड ४९ लाख रुपैयाँ बजेट छ । ‘मोडालिटी’का हिसाबले सुरुबाटै आलोचित कार्यक्रममा चालु आर्थिक वर्ष लागेयता (१ साउनदेखि २० वैशाखसम्म) १ अर्ब ५३ करोड २९ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार यो खर्च कुल विनियोजनको १२.७३ प्रतिशत मात्रै हो । सरकारले प्रत्येक वर्ष कार्यक्रमलाई थप परिस्कृत र प्रभावकारी ढंगबाट सञ्चालन गर्ने बताउँदै आएको पनि छ ।तर, चालु आर्थिक वर्ष २०७८/७९ मा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन फितलो नै छ । वैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा भएपछि कार्यक्रमको रकम खर्च हुने क्रम बढेको छ, तर, लक्ष्यअनुसार खर्च गर्ने हो भने अबको अढाई महिनामा १० अर्ब ५० करोड २० लाख रुपैयाँ खर्चिनुपर्नेछ । यसअनुसार दैनिक १५ करोड खर्चिनुपर्ने हुन्छ । यसले रोजगार कार्यक्रमको रकम यो वर्ष पनि असारे हिलोमै दुरूपयोग हुने खतरा बढेको छ ।
अहिलेसम्म कार्यक्रमका लागि ७ अर्ब ७० करोड ५६ लाख रुपैयाँ बराबरका आयोजना स्वीकृत भएका छन् । त्यसमध्ये २ अर्ब ७३ करोड २२ लाख रुपैयाँका आयोजना सडकसँग सम्बन्धित मात्रै हुन् । त्यसमध्ये ३५ करोड ५३ लाख रुपैयाँ मात्रै खर्च भएको देखिन्छ ।
Discussion about this post