इनरुवा। सुनसरीमा साँझ ५ बजे भित्र ६० प्रतिशत मत खसेको छ । मतदान कार्य पूर्ण सम्पन्न भैसक्दाको अवस्था सम्ममा ७१ प्रतिशत मत खस्ने आंकलन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार मतदानको समयावधि सकिएपनि ५ बजे अगावै मतदान केन्द्रमा प्रवेश गरेकाहरुको भने मतदान अझै जारी छ ।
जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार धेरेजसो मतदान केन्द्रमा मतदान अन्तिम चरणमा पुगेको छ । सुनसरी प्रशासनका अनुसार जिल्लाका सबै क्षेत्रमा निर्वाचन शान्तिपूर्ण तवरले संचालन भएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सबै १२ वटै पालिकामा निर्वाचन शान्तिपूर्ण भएको छ । प्रजिअ यादवले निर्धारित समय भित्र कहीकतैबाट मतदान सकिएको जानकारी भने प्राप्त भै नसकेको बताए । उनले अन्तिम चरणको मतदान धेरै स्थानमा जारी रहेको र बढीमा २ घण्टामा सबैतिर मतदान सकिने बताए । सुनसरीमा यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा ७४ दशमलव ३२ प्रतिशत मत खसेको थियो । सो बेला कुल खसेको मतको ९६ दशमलव ५५ प्रतिश मत सदर भएको थियो । बदर मतको प्रतिशत भने ३ दशमलव ४५ रहेको थियो ।
२०७४ को स्थानीय तह निर्वाचनमा सुनसरीको कुल मतदाता संख्या ४ लाख २१ हजार १ सय ५९ रहेको थियो । यस पटक सुनसरीको कुल मतदाता संख्या ५ लाख ३४ हजार ७ सय ६५ रहेको छ । मतदानका लागि यस पटक सुनसरीमा ५ सय ८१ मतदान केन्द्र तोकिएका छन । १ सय ६६ मतदान स्थल मध्ये सुनसरीका ४४ मतदान स्थललाई अति संवेदनशील मानिएको छ ।
Discussion about this post