विरगञ्पज । पर्साको जगरनाथपुर गाँउपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाँउपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि कांग्रेसकी बबिता सिंह निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित यादवले ५ हजार ७४९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी निर्वतमान गाउँपालिका अध्यक्ष जालीम मियाँका भाई एवम् एमाले उम्मेदवार महम्मद सलिम मन्सुर ३ हजार ९२६ मत मात्रै पाएका छन् । यादवले मन्सुरलाई १ हजार ८२३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । जसपाका उम्मेदवार कृष्णमोहनप्रसाद यादवले ३ हजार ४४७ मत पाएका छन् ।
पहिलेका माओवादी र अहिलेका एमाले नेता रहेका जालीमकाे विरासत कांग्रेस पर्सा क्षेत्र नं. ४ काे सभापति समेत रहेका श्रीकान्त ढालन सफल भएका छन् ।
आफू संघीय संसदमा चुनाव लड्ने तयारीमा रहेका निवर्तमान अध्यक्ष जालीमले स्थानीय तह निर्वाचनमा भने आफ्ना भाइ महम्मद सलिम मन्सुरलाई एमालेबाट गाँउपालिका अध्यक्षको उम्मेदवार बनाएका थिए । तर पटक-पटक गाविस अध्यक्ष र एक पटक गाँउपालिका अध्यक्षसमेत जितिसकेका जालीम, यसपालि भने आफ्नै पालिकामा आफ्नो विरासत जोगाउन असफल भएका छन् ।
२०७४ को निर्वाचनमा भने जालीम ३ हजार ४१ मतका साथ गापा अध्यक्षमा निर्वाचित हुँदा काँग्रेसका यादव भने २ हजार ९८६ मत प्राप्त गरी तेश्रो स्थानमा रहेका थिए ।
मुख्यमन्त्री राउतकी पत्नि उपाध्यक्षमा पराजित
जगरनाथपुर गाँउपालिकाको उपाध्यक्षमा मधेस प्रदेशकी मुख्यमन्त्री लालबाबु राउतकी पत्नि जलेखा खातुन पनि पराजित भएकी छन् । उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार बबिता सिंह निर्वाचित भएकी छन् ।
जसपाबाट उम्मेदवार बनेकी मुख्यमन्त्री राउतकी पत्नि जलेखा खातुनलाई २ हजार १८६ मतको फराकिलो अन्तरले पराजित गर्दै कांग्रेसकी बबिता उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
बबिताले ५ हजार ५३१ मत पाउँदा मुख्यमन्त्री पत्नि जलेखा खातुनले भने ३ हजार ३४६ मत मात्रै पाएकी छन्। यसअघि जसपाबाटै उपाध्यक्षमा निर्वाचित भएकी बिस्मिल्लाह खातुनलाई टिकट नदिइ जसपाले मुख्यमन्त्री राउतको जोडबलमा उनकी पत्नि जलेखालाई उम्मेदवार बनाउने तयारी गरेपछि मनोनयनको अन्तिम समयमा बिस्मिल्लाह जसपा छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकि थिइन् ।
Discussion about this post