काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता डाक्टर अबुल हुसैन अन्सारीले विगत पाँच दिनदेखि आमरण अनसनमा रहेकी पीडित कुमारी आमा निहारिका राजपूतलाई न्याँय दिन अविलम्ब नगर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छन् । आफ्नै साथीको दाइबाट बलात्कार भएकी उनी अविवाहित भएपनि उनी २१ महिनाको सन्तान लिएर जनकपुरबाट काठमाडौं आइपुगेकी पीडित निहारिकालाई सरकारले तुरुन्त न्याय दिनुपर्ने बताएका छन् ।
जनकपुर घर भएकी उनीहरु त्यहाँ न्याँय नपाएकोले काठमाडौं आइपुगेकी छन् । वसन्तपुर दरबार स्क्वायरमा एउटा कुनामा नयाँ पाल टाँगिएर अनसन बसेकी छन् । निहारिका र जश्मिनले गत शुक्रवारबाट माइतीघरको खाली सडकमा बसेर अनशन सुरु गरेका थिए । तर राति प्रहरीले उनीहरूलाई त्यहाँबाट जबरजस्ती उठाएको थियोे ।निहारिकाको हातमा हतकडी नै लगाएर उनीहरूलाई सिंहदरबार वृत्तमा पुर्याइएको थियो । भोलिपल्टदेखि उनीहरू वसन्तपुरमा बस्न थालेका हुन् ।
नेपाली काङ्ग्रेसका युवा नेता डाक्टर अबुल हुसैन अन्सारीले पीडितलाई न्याय दिनुपर्नेमा प्रहरीलाई समेत सहयोग गर्नुपर्ने धारणा राख्नु भएको छ । वहाँले असहाय बालिकामाथि भएको यस्तो जघन्य अपराधलाई सरकारले प्राथमिकताका साथ हेर्नुपर्ने बताएका छन् । उनीहरुले पीडित भएपछि आफ्नो न्याँयका लागि माइतीघरमा अनसन बसेर न्याय मागी रहेको बेला प्रहरीले त्यहाँबाट उठिबास लगाएको कार्यप्रति प्रहरी प्रशासनमाथि प्रश्न उठ्नु स्वभाविक भएको बताउदै प्रहरीले गलत कार्य गरेको बताउनुभयो । नेता अबुलले पीडित जो कसैलाई सकेसम्म सहयोग गर्न प्रहरी प्रशासनलाई अनुरोध गरेका छन् । बलात्कार गरेर फरार रहेका अपराधीलाई खोजेर कानुन बमोजिम सजायको माग गरेका छन् ।
उनीहरु दुईदिनदेखि बिरामी भएपछि वीर अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको छ । राजपूतसँगै अनसन बसिरहेकी जस्मिन ओझाको पनि उपचार भइरहेको छ । २१ महिने छोरोसँगै अनसन बसेकी राजपूतले आफ्नो बच्चाको डिएनए टेस्ट गरिनुपर्ने माग राखेकी छन् । साथै आफ्नो घटनालाई सुरुवातदेखि नै कमजोर बनाइएकाले पुन: अनुसन्धान गरिनुपर्ने माग राखेकी छन् ।
निहारिका आफ्नो साथीको घर गएको बेला योजना बद्द तरिकाले खानामा नशाको ओैषधी मिलाएर बेहोस गरेपछि ती साथीको दाइले आफुलाई बलात्कार गरेको बताइन् । उनले आफू होशमा आउदा आफ्नो शरीरमा लुगा समेत नरहेको बताइन् । उनले घटनाको बारेमा आफ्नो घर परिवारलाई बताएपनि समाजमा बेइज्जत हुने डरले उनको आफ्नै परिवारले साथ नदिएको बताइन् । ती २१ महिनाको सन्तानको बाबुले आफूलाई बलात्कार गरेको आरोप निहारिकाको छ ।
जिल्ला धनुषाले आरोपीलाई सफाइ दिएपछि उनी आक्रोशित छिन् । उनी न्याय माग्दै निकै भौँतारिइन् । उच्च अदालतमा पुनरावेदन पनि गरिन् । तर, चार महिनासम्म मुद्दाको पेशी नै नतोकिएपछि निहारिका विक्षिप्त बनेकी छन् । र, संघर्षको सबैभन्दा कठोर रूप आमरण अनशन रोज्न पुगिन् ।
आमरण अनशनमा निहारिकालाई साथ दिइरहेकी युवती हुन् जश्मिन ओझा निहारिकाकै उमेरकी हुन् उनी । कम उमेरमै उनले थुप्रै पीडित महिलाहरूलाई न्यायको ढोका ढकढकाउन सघाएकी छन् । अहिले उनी निहारिकाको लडाइँमा साथ दिन आफैँ आमरण अनशन बस्न तयार भइन् । न्यायको प्रत्याभूति नभएसम्म यो संघर्षबाट पछि नहट्ने बताउँछिन् जश्मिन ।
दुवै युवती अहिले शारीरिक रुपमा गलेका छन् । तर, उनीहरूको अठोट गलेको छैन । बच्चाको डीएनए टेस्ट गर्नुपर्ने तथा मुद्दाको पेशी तोक्नुपर्ने मागबाट पछि नहट्ने मनस्थितिमा छन् । यी माग सामान्य हुन् । नियमित रुपमै हुनुपर्ने कुरा हुन् । तर, यति सामान्य विषयका लागि आमरण अनशन बस्नुपर्ने नियति निहारिकाले भोगेकी छन् ।
Discussion about this post