विराटनगर : गाउँपालिका अध्यक्षका छोराले बुबाले प्रयोग गर्दै आइरहेको सरकारी गाडी तोडफोड गरेका छन् । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योति गच्छदारले आफ्नै बुबाले प्रयोग गर्ने गाडी तोडफोड गरेका हुन् ।
मंगलबार दिउँसो ज्योति गच्छदारले गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमै तोडफोड गरेका हुन् ।
बजेट निर्माणलगायत, विभिन्न समिति बनाउने विषयमा असहमति जनाउँदै ज्योतिले गाडी तोडफोड गरेको गाउँपालिका उपाध्यक्ष गुणावतीदेवी थारूले बताइन् ।
गाडी किन र केका लागि तोडफोड भयो भन्ने विषय प्रष्ट भइरसकेको छैन,’ उनले भनिन्, ‘मंगलबार बजेट निर्माणलगायत अन्य विषयमा छलफल भएको थियो । बैठकमा अध्यक्षका छोराले असहमति जनाएका थिए । त्यही रिसले तोडफोड गरेको हुनसक्छ ।’
ग्रामथान गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्षसहित कार्यपालिकामा बहुमत सदस्य जितेको छ । अध्यक्ष थारूले एमालेबाट निर्वाचित वडाअध्यक्षलाई कार्यपालिकाभित्रका विभिन्न समितिहरूको जिम्मेवारी नदिइएको विषयमा विवाद भएको थियो । बैठकको अन्त्यमा अध्यक्षले एमालेका केही वडा अध्यक्षलाई केही समितिमा राख्ने सहमति दिएका थिए ।
ज्योति पहिलादेखि नै एमालेलाई पेलेर जानुपर्छ भन्ने माग राख्दै आएका थिए । बुबाले एमालेलाई समितिमा राख्ने सहमति गरेपछि छोराले बाबुसँग असहमति राखेर गाडी तोडफोड गरेको जनप्रतिनिधिहरूले बताए ।
अध्यक्ष गच्छदारले गाउँपालिकामा निर्माण हुने समितिमध्ये केही समितिको संयोजक एमालेलाई दिने सहमति गरेका थिए ।
अध्यक्ष गच्छदारले पनि छोराले गाडीमा तोडफोड गरेको स्वीकार गरेका छन् । ‘जो सुकैले गाडीको सिसा फुटाए पनि कारबाहीको दायरामा ल्याउँछौ’, उनले भने, ‘ उपाध्यक्ष र वडा अध्यक्षहरु सँग छलफल गरेर के कारबाही गर्ने भन्ने निष्कर्षमा पुग्छौँ ।’
Discussion about this post