मान बहादुर ठकुल्ला
कैलाली (टीकापुर) / बेमौसमी वर्षाका कारण धानबालीमा ठूलो नोक्सान बेहोरेका कैलालीकाे टीकापुर भजनी किसान गहुँ छर्ने बेला रासायनिक मलको चरम अभाव भए पछि भाैतारिदै मलकाे खाेजिमा हिडिरहेका छन् । यहाँका मल आपूर्ति गर्ने निकायमा रासायनिक मल नहुँदा किसानले अभाव खेप्न बाध्य भएका हुन् । किसानहरु स्थानिय स्तरमा रहेका सहकारीहरु धाउँदै हिडन थालेका छन भने काेहि सिमा नाकामा भारतिय मल पाईन्छ कि भनी दाैडिरहेका छन । मल आपूर्तिको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग रासायनिक मल छैन ।गहुँ खेतीका लागि मल नपाएपछि किसान समस्यामा छन् । समय घर्किरहेकाले मलबिनै खेतमा गहुँ छर्न लागेको उनीहरूको भनाइ छ । रासायनिक मलको आशैआशमा समय घर्किंदै गएकाले मलबिनै गहुँ छर्न लागेको टीकापुर नगरपालिका–९ का कृष्णगाेपाल चाैधरीले बताए ।
मलका लागि धेरै दिन सहकारीमा दौडधुप गरेँ, उनले भने । तर, मल नपाएपछि त्यत्तिकै गहुँ छर्न बाध्य भएको छु । सक्ने कैयौँले लुकिछिपी भारतबाट मल ल्याएर खेतमा हालिरहेका छन् । तर, मैले भारतबाट ल्याउन सकेन । यहाँ पनि नपाएपछि त्यत्तिकै गहुँ छरिरहेको छाै।
कात्तिक पहिलो साता आएको बाढीले धानबालीमा नोक्सान गरेपछि कैयौँ किसानले यस वर्ष धान भित्र्याउन पाएनन् । भएको धानबालीमा बाढीले क्षति गरेपछि किसानहरूले गहुँखेती राम्ररी गर्ने सपना देखेका थिए । तर, गहुँ छर्ने सिजनमा रासायनिक मलको चरम अभावले किसानको मन खिन्न भएको छ । धानबालीमा क्षति भएपछि राहत दिने आश्वासन बाँडेको सरकार किसानको समस्याप्रति गम्भीर नरहेको भजनी ५, लालबाेझिका कृषक अर्जुन साउदले गुनासो गरे । उनले रासायनिक मल अभावमा गहुँ छर्न ढिलाइ भइरहेको उल्लेख गरे ।नेपालमा मल उपलब्ध नभएपछि कतिपय किसानले लुकिछिपी भारतबाट डीएपी मल ल्याएर गहुँका लागि खेतमा हालिरहेका छन् । आफ्नो देशमा मल नपाएपछि लुकिछिपी भारतबाट ल्याउन बाध्य भएको उनको भनाइ छ । नेपाली किसान सीमावर्ती भारतीय बजार पुग्न थालेपछि त्यहाँ पनि डीएपीको मूल्य बढाइएको साउँद बताउँछन् ।
अहिले सुदूरपश्चिम प्रदेशभर नै मलको चरम अभाव छ । भैरहवाको प्रादेशिक कार्यालयबाट रासायनिक मल नपठाउँदा समस्या भएको उज्यालाे बहुउद्देश्यीय सहकारी संस्थाका ब्यवस्थापक रामकृष्ण चाैधरीले बताए । उनले साउनदेखि नै ताकेता गर्दै आए पनि मल नपठाउँदा गहुँ खेतीको सिजनमा रासायनिक मलको अभाव भएको उल्लेख गरे ।
Discussion about this post