सन्तोष मेहता/विराटनगर ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बलियामा महिलामाथि सामूहिक बलात्कार भएको छ । बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिला सामूहिक बलात्कारको सिकार भएकी हुन् । जीवन र मरणको दोसाँधमा छटपटाइरहेकी पीडितको अवस्था गम्भीर छ । बलात्कारबाट महिलाको यौनअंग क्षतविक्षत भएको छ । अत्याधिक रक्तश्राव हुन थालेपछि उपचारका लागि विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको छ । रतग धेरै बगेकाले रक्तचाप कम भएर गएको छ । बलियास्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर महिलामाथि तीन जनाले शुक्रबार राति सामूहिक बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपसी मञ्जील मुकारुङले जानकारी दिए । मुकारुङका अनुसार होटल सञ्चालक सुन्दरहरैँचा–४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर बताउने रामबहादुर नेपालीले होटलमा राखेर रातभर सामूहिक बलात्कार गर्दा महिलाको अवस्था चिन्ताजनक बनेको हो । सुनसरीको इटहरीस्थित एउटा घरमा काम गरेर गछियामा रहेको बहिनीको घरमा फर्कदै गरेको अवस्थामा उनलाई बलात्कारमा संलग्नमध्ये रामबहादुरले बहिनीको घर पुर्याइदिन्छु भन्दै गाडीमा राखेर शुक्रबार साँझ ६ बजेतिर गछिया खोजानजिकबाट लगेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न अर्जुन र उनका भाइ मनोज हिजै पक्राउ परिसकेका छन् । अर्जुनले सञ्चालक गरेको होटलमा काम गर्ने आरती श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेका हुन् । प्रहरीका अनुसार आरती सामूहिक बलात्कार घटनाकी प्रत्यक्षदर्शी हुन् । रामबहादुर फरार रहेकाले खोजी तीव्र पारेर घटनाको गम्भीर ढंगले अनुसन्धान थालिएको डिएसपी मुकारुङले बताए। अर्जुन र आरती बलात्कार पीडित महिलालाई प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर उपचारका लागि कोसी अस्पताल लिएर आएका बेला पक्राउ परेका हुन् । बलात्कार गर्न नदिएर महिलाले प्रतिकार गरेपछि अर्जुनले हात भित्र छिएर महिलाको यौनअंग नै क्षतिविक्षत बनाइदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार अत्याधिक रक्तश्राव भएकी महिलाको यौनअंग क्षतिविक्षत हुनुका साथै शरीरभरि नीलडाम र चोटपटक छ । डिएसपी मुकारुङले प्रतिकार गर्न थालेपछि महिलालाई यातना दिने र कुटपिट गर्ने कामसमेत भएको बताए । पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई छोरी छन् । पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेकी हुन् । श्रीमान २ महीनाअघि पहाड घर खोटाङ गएका थिए । नानीहरुलाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनलाई कामबाट फर्कने क्रममा अपहरण शैलीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरुमा रामबहादुरले र त्यसपछि मनोज तथा अर्जुनले पालैपालो बलात्कार गरेको पाइएको छ । पीडितकी बहिनीले घटनाका बारेमा आफूहरुलाई शनिबार बिहान ८ बजे मात्रै थाहा भएको बताइन् । उनका अनुसार घटनास्थल पुग्दा बलात्कार गरिएको कोठा र ओछ्यान रक्ताम्य थियो । दिदीलाई बेहोस भएर रगतको आहालमा डुबेको देखेपछि आफूले केही सोच्न नसकेको उनले बताइन् । उपचारका लागि लैजानलाई हारगुहार गर्दा आफूमाथि नै दुव्र्यवहार भएको गुनासो उनको छ । प्रहरीलाई खबर गर्छु भनेपछि मात्रै उपचारका लागि लैजान होटल सञ्चालक तयार भएको उनले बताइन् । उपचारमा संलग्न कोसी अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रिभा केसीले अत्याधिक रक्तश्रावका कारण महिलाको स्वास्थ्य अवस्था जटिल बनेको बताइन्। डा. केसीका अनुसार पीडित महिलाको यौनअंग क्षतिविक्षत छ । शरीरका विभिन्न भागमा चोटपटक छ । अरु थप समस्या भने परीक्षण गरिसकेपछि मात्रै पत्ता लाग्ने डा. केसीको भनाइ छ ।
Discussion about this post