इनरूवा / आस्न्न स्थानीय तह निर्वाचन २०७९ सहित अन्य विषयमा नेपाल र भारतका सुरक्षा अधिकारी बीचको बैठक सम्पन्न भएको छ ।
खुल्ला सीमाको कारणले दुबै देशमा हुने अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने बिषयमा दुई देशको सुरक्षा अधिकारी बीच भेटवर्ता भएको हो ।
सीमानाकाबाट हुने चोरी तस्करी र शान्ति सुरक्षा कायम गर्नका लागि दुबै देशका सुरक्षा अधिकारी सहमत भएको बैठकमा सहभागी सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
भारत बिहार राज्यको बिरपुर कौशिकी भवनको अडिटोरियममा दुवै देशका अधिकारीबीच भेटवार्ता भएको प्रजिअ यादवले जानकारी दिनुभयो । बैठकमा नेपालका तर्फबाट सुनसरी र सप्तरीका सुरक्षा अधिकारीको सहभागीता रहेको थियो भने भारतबाट सुपौल जिल्लाका प्रशासनिक अधिकारीहरुको सहभागीता रहेको थियो ।
आगामी वैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन हुनुभन्दा ७२ घण्टा अगावै दुवै देशको सीमा नाका सिल गर्ने गरी सहमति भएको प्रजिअ यादवले जानकारी दिनुभयो ।
त्यसैगरी दुई देशबीचको सूचना आदानप्रदान, लागुऔषध ओसारपोसार, हातहतियार, मानव बेचबिखन, नक्कली नोट, अपराध र त्यसको रोकथाम लगायतका बिषयमा दुबै देशका सुरक्षा अधिकारी सहमत भएको र सोही अनुसार सहमति पत्रमा हस्ताक्षर भएको उहाँले बताउनुभयो ।
नेपाल सम्झौता कोशी नदी क्षेत्र अन्तर्गत र संरक्षित क्षेत्र वन टप्पुको वन्यजन्तुको संरक्षण क्षेत्रमा कोशी आयोजनाका इन्जिनियरहरुले बाँध निर्माण गर्ने कामको बीचमा राति १० बजेपछिको क्षणमा सवारी साधनको चाप, स्थानीय सुरक्षा र स्थानीय तहमा दुवै देशका प्रशासनिक अधिकारीको समन्वय बैठक बसेर एक आपसमा सूचना आदानप्रदान गर्ने सम्झौता भएको प्रजिअ यादवले बताउनुभयो ।
भारतीय डिभिजन सुपौलका डीएम कौशल कुमारले स्थानीय तहमा विशेषगरी नेपाल डिभिजनको कोशी नदीमा बाढीको समयमा बाढी संरक्षण कार्यमा भएका सानातिना कठिनाइका विषयमा छलफल गरेका थिए ।
सीमामा तैनाथ एसएसबी र नेपाल सशस्त्र प्रहरी बलबीच समय–समयमा समन्वय बैठक हुँदै आएको र स्थानीय प्रहरी चौकी र डिएसपी तहमा प्रहरी चौकी र डीएसपी कार्यालयसँग बैठक गर्ने सहमति भएको छ ।
Discussion about this post