सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरुवा भएका प्रहरी उपरीक्षक प्रभु ढकाल जिल्लाको प्रहरी कमान्ड समाल्न शुक्रबार कार्यालय आइपुगेका थिए । संयोगवश इलाका प्रहरी कार्यालय महेन्द्रनगरका नयाँ प्रहरी निरीक्षक राजेश दत्त पनि शुक्रबारनै महेन्द्रनगरको कमान्ड समाल्न कार्यालय पुगेका थिए ।
तर शुक्रबार राती २ बजे इलाका प्रहरी कार्यालय मातहतको चतरा बजारको औलिया ज्वलर्स फोडेर १० लाख बढी मूल्य बराबरको सुन र चाँदीका गरगहना चोरी भयो । ज्वलर्सकोे पछाडिको भागको ढोका फुटाई ठुलो धनराशिको चोरी भएको घटना भर्खरै जिल्ला र इलाकामा आएका नयाँ प्रमुखलाई तत्कालै जाहेर हुनु स्वाभाविक थियो ।
नयाँ प्रहरी उपरीक्षक ढकालले काठमाडौँबाट विराटनगर विमानस्थल ओर्लनु भन्दा अगाडी घटनाको अनुसन्धान गर्न चतरा प्रहरीका प्रमुखलाई निर्देशन दिइसकेका थिए ।
ढकालसँगै कार्यालय हाजिर हुन एकै समय गएका नयाँ प्रहरी निरीक्षक राजेश दत्तलाई पनि ‘स्पट’ मा पुगेर घटनाको अनुसन्धान गर्न र चाँडो चोरीमा संलग्नलाई पक्राउ गर्न आदेश दिए । जिल्ला टेकेकै दिन यति ठुलो चोरी हुनु र चोरीमा संलग्नलाई तत्कालै पक्राउ गर्नु दुवै प्रमुखको लागि ‘च्यालेन्ज’ को विषय बनेको थियो ।
दुवै प्रमुख यो घटना ‘पहिलो गासमै ढुङ्गा’ बनाउन चाहन्न थिए । अर्को तर्फ चतरामा यस अघि पनि पटक पटक भएका चोरीका घटनाले स्थानियसगै व्यवसायी आक्रोशित थिए । यता चोरीको घटना अनुसन्धानको लागि प्रहरी प्रदेश कार्यालय धरानबाट वरिष्ठ सईको कमान्ड थप मद्दत टोली समेत चतरा आएको थियो ।
संयुक्त अनुसन्धान टोलीले ज्वलर्स चोरीमा नयाँ मान्छे नभई पसलको सम्पूर्ण जानकारी हुने व्यक्तिको हात भएको अनुमान गर्यो । चोरले सुरुमा पसलको सिसिटिभी क्यामेरा चुँडाएर फ्याकेको थियो । साथै घटना प्रकृति हेर्दा एक भन्दा बढी व्यक्ति संलग्न नभएको प्रहरीले प्रारम्भिक निष्कर्ष थियो । लगातार चतरा बजारमा भइरहेको चोरीका अन्य घटनामा प्रहरीको अनुसन्धान फितलो आरोप लागिरहेको अवस्थामा यो घटनामा भने चोरलाई जति सक्दो चाँडो पक्राउ गर्नु प्रहरीलाई दबाब पनि थियो ।
प्राय चोरीका घटनामा जतिसक्दो चाँडो चोर पक्राउ गर्न नसके चोरीका सामान (दशी प्रमाण) बरामद गर्न मुस्किल हुने गर्छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्त र प्रदेश प्रहरी कार्यालय धरानका वरिष्ठ सई तिलक कार्कीको संयुक्त अनुसन्धान टोलीले शङ्कास्पद व्यक्तिको अनुसन्धान गर्ने क्रममा वराहक्षेत्र १ बस्ने २६ वर्षीय अनिल बराइलीमाथि शङ्का पर्यो । चोरीपछि सोही ज्वलर्स आसपास अस्वाभाविक व्यवहार देखाएपछि उनलाई प्रहरीले सोधपुछको लागि प्रहरी कार्यालय लग्यो । सोधपुछमा मनोवैज्ञानिक विधि अपनाएको अनुसन्धान टोलीसँग शङ्का गरिएका बराइलीले केही समयमै चोरी गरेको स्वीकार गरे ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक ढकालका अनुसार सुरुमा बराइलीले चोरीको विषयमा आफूलाई जानकारी नभएको र चोरी भएको हल्ला सुनेपछि ज्वलर्स हेर्न मात्र गएको बयान दिए । पछि मनोवैज्ञानिक रूपमा प्रहरीले फकाउँदै गएपछि आफू एक्लैले चोरी गरेको र गहनाहरू घरको दराजमा राखेको प्रहरीसमक्ष स्वीकार गरेको उनले बताए । पछि उनको घर खानतलासी गर्दा दराजमा झोलामा राखेको अवस्थामा सबै गहनाहरू बरामद भएको प्रहरी उपरीक्षक ढकालले बताए ।
सुनका साना टुक्राहरू भने बराइलीले खैनीको प्याकेटमा हालेर बोकेका थिए ।
‘घटना भएको झन्डै १२ घण्टा भित्रै हामीले चोरीमा संलग्न व्यक्ति र गहनाहरू सुरक्षित फेला पार्न सफल भयौ’ प्रहरी उपरीक्षक ढकालले भने ‘बाँकी चतरा बजार क्षेत्रमा भएका अन्य चोरीका घटनामा समेत गहन अनुसन्धान गर्नेछौ ।
पक्राउ परेका बराइली यस अघिपनि चोरीका विभिन्न घटनामा संलग्न भएको प्रहरी रेकर्डले देखाएको छ । बराइली यसअघि चतराकै एक सुन पसलमा काम गर्ने गर्दथे । ढकालले चतरा बजार क्षेत्रमा चोरीका घटना वृद्धि भएको विषयमा भने चोरीका घटना न्यूनीकरणको लागि नागरिक तथा व्यवसायीहरू स्वयम सचेत हुनुपर्ने बताए ।
‘जिल्लाका अन्य ठाउँबाट पनि चोरीका गुनासाहरू प्रहरीकहाँ आएका छन्, म भर्खरै जिल्लाको प्रहरी कमान्ड समाल्दै छु, सबै ठाउँको वस्तुस्थिति बुझेर परिणाममुखी सुरक्षा योजना ल्याउनेछु’ ढकालले जानकारी दिए ।
Discussion about this post