इनरुवा । रामधुनी मन्दिरको नित्य पूजा रोकिएको भन्ने विषयले बिवादमा तानिएपछि रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिले आफुहरुमाथि लगाइएको आरोपको खण्डन गरेको छ ।
मन्दिरका पुजारी महन्त काशीदास उदासी र उनका अनुयायी बताउने मोहिनारायण चौधरीले लगाएको आरोपको प्रतिवादमा पत्रकार सम्मेलन गरेको समितिले आफुहरुमाथि लगाइएको आरोपलाई कपोकल्पित र भ्रामक भएको बताएको छ ।
षड्यन्त्र पूर्वक समिति उपर एकपक्षीय आरोप लगाउँदै अनर्गल प्रचारबाजी भएको भन्दै आपत्ति जनाएको समितिले महन्त काशीदास आफुना अनुयायी मोहिनारायणको बहकावमा बहकिएको आरोप समेत लगाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष डिल्ली कार्कीले भने, म र मेरो समिति उपर लगाइएका सारा आरोप निराधार र कपोकल्पित हुन । जसमा कुनै सत्यता छैन । मन्दिरको ताला लगाएर नित्य पूजा रोक्ने काम भएकै छैन । सारा आरोप झुटो र निराधार छ ।’
उनले थपे, ‘मन्दिरमा बिवाहित व्यक्तिले पूजाआजा गर्न पाइदैन । मोहिनारायण भन्ने विवाहित व्यक्तिले पूजा गरेको भेटेपछि सो कार्य नगर्न भनेका थियौं । सोही विषयमा अन्य व्यक्तिगत असन्तुष्टि जोडेर इगो बनाइयो ।’
कार्कीले गुठी संस्थानबाट प्राप्त जिम्मेबारी अनुरुप आफुहरुको समिति कार्यरत रहेको भन्दै कानुन विपरितका कुनैपनि कार्य नगरेको बताए । उनले नगरपालिकासँग समन्वय गरेर समितिले मन्दिरको हकहीतको सवालमा कार्य गर्दै आएको बताए ।
कार्कीले पछिल्लो घटना उचालिएपछि प्रजिअ सहितको टोलीले दुवै पक्षसँग छलफल गरेको समेत बताए । छलफलका क्रममा मोहिनारायण चौधरीलाई सामान्य व्यक्ति सरह बाहेकको कुनै पनि कार्य गर्ने र गराउने इजाजत नरहेको भनी प्रशासनले स्पष्ट पारेको समेत बताए । कार्कीले चौधरीलाई आश्रमबाट पोकापतेरा बोकेर हट्न प्रशासनले आदेश दिएको समेत बताए ।
पत्रकार सम्मेलनमा रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल, वडा अध्यक्ष कमल कार्की लगायतको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख चौधरीले रामधुनी मन्दिरमा महन्त काशीदास उदासी र गुठी समिति अध्यक्ष डिल्ली कार्की बिचको बिवादलाई पालिकाले सूक्ष्म रुपमा हेरेको बताए । उनले सोधखोजका क्रममा मोहिनारायण चौधरीको फटाई रहेको निष्कर्शमा नगरपालिका पुगेको बताए ।
नगर प्रमुख चौधरीले भने, ‘मन्दिरमा जहीँतहीँ दान पेटिका राखिएको रहेछ । जसको ताला चाबी स्वयं मोहिनारायणले राख्ने र दान रकम स्वेच्छाले आफैंले लग्ने गरेको पाइयो । जसमा कडाई गरेपछि उनी गुठी समिति विरुद्ध आक्रामक ढङ्गले दुष्प्रचारमा लागेको बुझियो । त्यसपछि भने दान पेटिका र सारा खर्च विवरणलाई नगरपालिकाको नेतृत्वमा व्यवस्थापन गरिएको उनले बताए ।’
मेयर चौधरीका अनुसार दुईपक्षिय विवादको छानविन गर्ने क्रममा रामधुनी मन्दिरका पुजारी तथा महन्त काशीदास उदासीले मन्दिरमा उठेको भेटिघाटीको रकम समबन्धीत निकायमा नबुझाई आफुखुशी खर्च गर्ने र चेलाहरुलाई उठाएर खर्च गर्न दिने गरेपछि विवाद आरोप प्रत्यारोपमा पुगेको हो ।
मन्दिरमा बसेर मोहिनारायण चौधरीले पूजासमेत गर्न थालेपछि बाबा बनखण्डी मन्दिर गुठी व्यस्थापन समितिले महन्तबाहेक अरुले पुजा गर्न नपाउने भनी उनलाई रोक लगाउन खोज्दा मन्दिर बन्द गरेको भन्दै विवाद झिकेको दुईपक्षिय छलफलका क्रममा बुझिएको मेयर चौधरीले बताए ।
विवाद सार्वजनिक भएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले दुवै पक्षसहित नगरपालिकाका मेयरसहितका पदाधिकारीलाई राखेर रामधुनी मन्दिर परिषरमा छलफल गरेका थिए ।
प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि, स्थानीय र सरोकारवालाहरु बिच भएको छलफलका क्रममा महन्त काशीदास उदासी र उनका चेला मोहिनारायण चौधरीले बाबा बनखण्डी मन्दिर गुठी व्यस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीलाई विभिन्न मिति समयमा विभिन्न अभियोगमा अदालतमा मुद्धा दायर गरेकाले अदालतबाट मुद्धाको किनारा नलागेसम्म यथास्थितीमा दुवैपक्षले आफ्नो कामकाज जारी राख्ने मुद्धाको छिनोफानो लागेपछि रामधुनी नगरपालिकाले मन्दिरको व्यवस्थापन कार्यमा गुठी सस्थाँनसँगको समन्वयमा काम गर्ने निर्णय भएको थियो ।
उक्त छलफलका क्रममा महन्तका विवाहित चेला रहेका मोहीनारायण चौधरीले प्रचलित परम्परा अनुसार व्यक्तिगत रुपमा मन्दिरमा आएर पूजा दर्शन गर्न पाउने अन्य समयमा मन्दिर क्षेत्रमा आएर कुनै प्रकारका गतिविधि गर्न नपाउने लिखित कागज तयार पारी रामधुनी नगरपालिका कार्यालयमा हस्ताक्षर कागज गरेपछि तत्काल विवाद समाधान भएको बताइन्छ ।
रामधुनी नगरपालिका हाल मन्दिर क्षेत्रमा भित्र रहेको भेटिको बाकस महन्तले राख्दै आएकाले अदालतको फैसलापछि मात्रै भित्रको भेटिका बारेमा निर्णय गर्ने सहमति भएको जनाइएको छ । हाल नगरपालिकाले बाहिर एक स्थानमा मात्रै सवैले देख्ने गरि चन्दा बाकस राखेको छ भने उक्त बाकसको रकम सवैजनाको रोहबरमा खोलेर उक्त रकम मन्दिर व्यवस्थापन कार्यमा खर्च गरिदै आएको छ ।
Discussion about this post