सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा सञ्चालित एक सामुदायिक विद्यालयको ब्यवस्थापन समितिले आयोजना गर्न लागेको एक कार्यक्रममा समिति र उपमहानगरपालिकाबीच प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ल्याउन र रोक्न प्रतिष्पर्घा मच्चिएको छ ।
इटहरी ४मा सञ्चालित कचना माध्यमिक विद्यालयको ब्यवस्थापन समितिले विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्ने कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथिको रुपमा सहभागि गराउने गरी तयारी गरेकोमा उपमहानगरपालिकाले ओलीलाई रोक्ने गरी विज्ञप्ति जारी गरेपछि होडबाजी सतहमा आएको हो।
विद्यालयको तर्फबाट आउँदो फागुन १६ गते बुधबार इटहरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त नवनिर्मित भवन उद्घाटन गर्ने सूचना आइतबार दिउँसो सामाजिक सञ्जालमा देखिएको थियो । जसको जवाफमा आइतबार साँझ नै इटहरी उपमहानगरपालिकाले एउटा विज्ञप्ती जारी गरेको छ । जसमा इटहरीस्थित कचना माविको भवन उद्घाटन स्थगित गरिएको उल्लेख छ । उपमहानगपालिकाले तयारी पुरा नभएको भन्दै उद्घाटन स्थगित भएको विज्ञप्ती जारी गरेको छ ।
बुधबार एमाले अध्यक्ष ओली सुनसरीका विभिन्न कार्यक्रममा सहभागि हुन आउने कार्यक्रम छ । सोही क्रममा इटहरी ४ मा रहेको कचना स्कुलको भवनसमेत उद्घाटन गर्ने योजना विद्यालय व्यवस्थापन समितिले बनाएको थियो ।
व्यवस्थापन समिति अध्यक्ष तथा एमाले नेता डिकबहादुर राईले निर्धारित कार्यक्रम नरोकिने जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नगरप्रमुख पुर्वाग्रही भएको आरोप लगाएका छन् । उनले पूर्वनिर्धारित कार्यक्रममा सहभागि हुन आह्वान गरेका छन् ।
तर नगरप्रमुख हेमकर्ण पौडेल आफैले हस्ताक्षर गरेको विज्ञप्तीमा भने विद्यालय नगरको क्षेत्राधिकारभित्र पर्ने उल्लेख छ ।
विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने विषयमा नगरप्रमुख र विद्यालय व्यवस्थापन समितिबिचको विवाद कार्यक्रममा आसन ग्रहण गर्ने र कसले उद्घाटन गर्ने भन्ने विषयमा कुरा नमिलेपछि देखिएको बताइएको छ । पहिले जारी भएको सूचनाअनुसार प्रधानमन्त्री ओली प्रमुख अतिथि र नगरप्रमुख विशेष अतिथि बन्ने भनिएको थियो । तर पछि ओलीसँगै पार्टीका अन्य शीर्ष नेताहरुसमेत आउने भएपछि कार्यक्रमको सेड्युअल परिवर्तन भएको र त्यसपछि विज्ञप्ती आएको बताइएको छ ।
सर्वसाधारणहरुले भने विद्यालय भवन उद्घाटनमा विद्यालय व्यवस्थापन समिति र उपमहानगरपालिकाबिचको प्रतिष्पर्धा अनुचित रहेको टिप्पणी गरेका छन् ।
नेकपा एमालेका सुनसरी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको निर्णय विना मेयर हेमकर्ण पौडेलले राजनीति प्रतिसोध साध्नलाई कार्यक्रम स्थगित गरिएको सूचना जारी गर्नुको कुनै ओचित्य नभएको दावी गरे ।
उनले भने, ‘विद्यालय ब्यवस्थापन समितिले निर्णय गरेर कार्यपालिकालाई पूर्वनिर्धारित कार्यक्रमको बारेमा सबै तयारीको विषयमा जानकारी गराई कार्यपालिका बैठकबाटै पारित गराईसकेको विषयमा पुनः मेयरले ब्यक्तिगत रुपमा जारी गरेको विज्ञप्ति उनको राजनीतिक दरिद्रता बाहेक केही होईन ।’
उनले थपे, ‘ पूर्वप्रधानमन्त्री केपी ओली मंगलबार नै दमक आएर बस्नु हुन्छ । बुधवार घरमै खाना खाएर इटहरी आउनु हुन्छ । विद्यालयको कार्यक्रम तालिकाअनुसार सहभागि भएर नेकपा एमाले सुनसरीको आयोजनामा हुने जिल्ला स्तरीय कार्यकर्ता भेलामा सहभागि भइ संवोधन गर्नु हुन्छ । सोही दिन साँझ काठमाडौ फर्किनु हुन्छ । यो सेड्यूलमा कुनै फेरबदल हुँदैन । हामीले सम्पूर्ण तयारी पुरा गरिसकेका छौ ।’
Discussion about this post