इनरुवा । इनरुवा नगरपालिका नगरकार्यपालिका कार्यालयमा रहेका हेभी इक्विपमेन्ट सवारी साधनहरु व्यक्ति तथा निर्माण व्यवसायीलाई भाडामा लगाएपनि कार्यालयमा राजश्व आम्दानी जम्मा नगर्ने गरेको फेला परेको छ ।
इनरुवा नगरपालिकाको नगरसभाले नगरपालिकामा रहेका हेभी इक्वीपमेन्ट सवारी साधनहरु भाडामा लगाउनका लागि इन्धनबाहेकको दररेट तोकि भाडामा दिने निर्णय गरेपनि चालु आर्थिक वर्ष २०८०/०८१ मा भाडा वापतको राजश्व रकम जम्मा नभएको पाइएको हो ।
नगरपालिकाबाट विभिन्न निर्माण व्यवसायी तथा व्यक्तिहरुले प्रायःजसो दैनिक विभिन्न काम प्रयोजनका लागि हेभी इक्विपमेन्ट सवारी साधनहरु भाडामा लैजाने गरेपनि भाडा वापतको रकम लेखा फाँट तथा राजश्व शाखामा जम्मा गरेको रेकर्ड नभएको फेला परेको छ ।
नगरपालिकाले सरसफाई सुपरभाइजर सत्तु मण्डललाई हेभी इक्विपमेन्ट परिचालन गर्ने जिम्मेवारी दिएको छ । सुपरभाइजर मण्डलले हेभी इक्वीपमेन्टका सवारीचालक तथा अपरेटरलाई काममा खटाउने गरेका छन ।
इनरुवा नगरपालिका राजश्व शाखाका प्रमुख कुसुम भट्टराईले चालु आर्थिक वर्षको साउन महिनादेखि फागुन २७ गतेसम्म हेभी इक्विपमेन्ट सवारी साधनहरु भाडामा लगाए वापतको रकम राजश्वमा जम्मा भएको रेकर्डमा नभेटिएको बताइन ।
शाखा प्रमुख भट्टराईले हेभी इक्विपमेन्ट सवारी साधनहरु भाडामा लगाएको रेकर्ड राख्ने कामको जिम्मेवारी सुपरभाइजर सत्तु मण्डललाई दिएकाले उनीसँगै सोको रेकर्ड हुने बताइन ।
यसैगरि नगरपालिकाको लेखा फाँटले हेभी इक्विपमेन्ट सवारी साधनहरु भाडामा लगाए वापतको राजश्व रकमको रेकर्ड नभएको जनाएको छ । लेखा फाँटले समेत हेभी इक्विपमेन्ट सवारी साधनहरुको आम्दानी खर्चको विवरण सुपरभाइजर सत्तु मण्डलको जिम्मामा रहेको दावी गरेको छ ।
आइतवार सुनसरी जिल्ला अस्पताल इनरुवामा नगरपालिकामा रहेका को १ ग १३९ नम्बरको भायब्रेसन रोलर, को १ ग १४० नम्बरको ब्लाकहु लोडर(जेसिभी) र को २ त २३८५ नम्बरको पानी ट्याङकीसहितका साधन पार्किङ निर्माणका लागि ग्राभेल सम्माउने र रोलर लगाएर मिलाउने काममा प्रयोग भएको थिए ।
अस्पताल परिषरमा भेटिएका सुपरभाइजर सत्तु मण्डलले इन्धन सम्बन्धित व्यक्तिले हाल्नेगरि तोकिएअनुसारको भाडा वापतको रकम नगरपालिकाको राजश्व शाखामा जम्मा गरेपछि तेल हालेर भाडामा पठाउने गरेको जानकारी दिए।
उनले भने, ‘चालु आर्थिक वर्षमा भाडामा वापतको रकम राजश्वमा जम्मा हुँदै आएको छ । राजश्व शाखामा सवै विवरण लिन सकिन्छ ।’
मण्डलले सवारीसाधन भाडामा लगाएको राजश्व रकम राजश्व फाँटमा नियमित रुपमा जम्मा हुँदै आएको दावी गरे । उनले भने, ‘मेयर साहेबको मौखिक आदेशमा काममा सवारीसाधन पठाउन सवारी चालक र अपरेटरलाई खटाउने गरिएको छ ।’
मेयर केदार भण्डारीले नगरपालिकामा रहेका हेभी इक्वीपमेन्ट सवारी साधनहरु आवश्यकताका आधारमा कार्यालयकै तर्फबाट नगरक्षेत्रमा विभिन्न काममा प्रयोग गर्ने गरिएको बताए ।
भण्डारीले नगरपालिकामा भाडा वापतको रकम जम्मा गरि इन्धन भरेर लैजाने व्यक्ति वा ठेकेदारलाई मात्रै उपलब्ध गराउँदै आएकाले दुरुपयोग नहुने दावी गरेका छन ।
मेयर भण्डारीले भने, ‘व्यक्ति वा ठेकेदारले भाडामा लगे वापतको रकम राजश्व शाखामा तोकिएको दररेट अनुसार भाडा बुझाएको हुनुपर्छ । नगरक्षेत्रमा रहेका सरकारी कार्यालयहरुले सहयोग माग्दा नगरपालिकाले निःशुल्क दिदै आएको छ।’
नगरपालिका स्रोतका अनुसार नगरपालिकामा रहेका हेभी इक्विपमेन्ट सवारी साधनहरु मेयर केदार भण्डारीको आदेशबाहेक कसैलेपनि भाडामा वा कुनैपनि प्रयोजनका लागि लैजान नपाउने अवश्था रहेको छ ।
नगरपालिकाले खुल्ला टेण्डर प्रतिष्पर्धाबाट र कोटेशनबाट निर्माण व्यवसायीलाई पूर्वाधार विकास निर्माणका योजनाहरु संचालन गर्दै आएकाले विकास निर्माणका काममा हेभी इक्वीपमेन्ट प्रयोग गर्दा सम्बन्धित ठेकेदारले भाडा वापतको रकम बुझाउनुपर्ने देखिन्छ ।
नगरपालिकामा मेयर केदार भण्डारी, सत्तु मण्डलको दावी विपरित राजश्व शाखा र लेखा फाँटमा हालसम्म कुनै शिर्षकमा हेभी इक्विपमेन्ट सवारी साधन प्रयोग गरे वापतको रकम राजश्वमा जम्मा भएको पाइदैन ।
नगरसभाबाट चालु आर्थिक वर्ष २०८०/०८१ क लागि बजेट खर्चमा नगरपालिकामा रहेका दमकल, पदाधिकारीले प्रयोग गर्ने सवारीसाधन र हेभि इ्रक्वीपमेन्टका लागि बार्षिक रुपमा करिब ३ करोड इन्धन तथा मर्मत सम्भार खर्च वापतको रकम विनियोजन गरेको छ ।
इनरुवा नगरपालिकाको ११ औ नगरसभाले नगरपालिकामा रहेका हेभी इक्वीपमेन्ट भाडामा लैजानेले इन्धन आफै हालेर प्रयोग गर्नेगरि ग्रेडर प्रतिदिन १५ हजार ३ सय, रोलर प्रतिदिन १२ हजार ८ सय, ब्याकहु लोडर(जेसिभी) प्रति घण्टा १२ सय, ट्रिपर प्रतिदिन ७ हजार र पानी ट्याङकी प्रतिदिन ५ हजार रुपैयाँका दरले भाडामा दिने निर्णय गरेको छ ।
इनरुवा नगरपालिकामा रहेका हेभी इक्वीपमेन्ट संचालनका लागि कार्यालयले सवारी चालक र अपरेटरलाई नियुक्ती गरि मासिक तलब भत्ता उपलब्ध गराउँदै आएको छ ।
Discussion about this post