सुनसरी — भोकाहा नरसिंह गाउँपालिका–२ मा सम्पन्न करम पूजाको कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद विशेष अतिथि रूपमा उपस्थित भई समुदायबीच एकता, प्रेम र आपसी सद्भावको सन्देश दिनुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष आजादले करम पर्वलाई “सामाजिक एकता र सहअस्तित्वको प्रतीक” बताउनुभयो। उहाँले भन्नुभयो,
“हाम्रो स्थानीय संस्कार र परम्परा हाम्रो अस्तित्वको आधार हुन्। करम पूजाजस्ता चाडले हामीलाई प्रकृतिप्रति सम्मान गर्न, एकअर्कामा माया र सद्भाव बढाउन सिकाउँछन्। यसलाई जोगाउनु हाम्रै जिम्मेवारी हो।”
अध्यक्ष आजादले युवापुस्तालाई मौलिक संस्कृतिप्रतिको आकर्षण बढाउन आग्रह गर्दै भने,
“नयाँ पुस्ताले आफ्ना पुर्खाले दिएका परम्परागत मूल्य र संस्कारलाई आत्मसात गर्नुपर्छ। यसले समुदायलाई बलियो बनाउँछ र एकताको भावना सुदृढ गर्छ।”
उहाँले करम पूजालाई केवल धार्मिक वा सांस्कृतिक पर्व मात्र नभई “पर्यावरणीय चेतना र सामूहिक सहजीवनको पर्व” का रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय महिला समूह, समाजसेवी, जनप्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। वक्ताहरूले करम पर्वले समाजमा सहिष्णुता र सहअस्तित्वको सन्देश दिने भएकाले यसलाई भावनात्मक रूपमा मनाउनुपर्नेमा जोड दिएका थिए।
करम पर्व विशेष गरी सन्थाल, उराँव, मुण्डा, महतो, पासवानलगायत समुदायबीच प्रचलित छ। कृषि संस्कृतिसँग जोडिएको यस पर्वमा प्रकृतिका प्रतीक ‘करम रूख’ लाई पूज्ने परम्परा रहिआएको छ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष आजादले भन्नुभयो,
“हाम्रो संस्कृति विभाजन होइन, एकता र सहअस्तित्वको सन्देश दिन्छ। स्थानीय सरकार पनि सांस्कृतिक जगेर्नाका कार्यक्रमलाई निरन्तरता दिनेछ।”










Discussion about this post