इनरूवा । सुनसरीका किसान अहिले चिन्तित छन्। अविरल बेमौसमी वर्षाले खेतमा बाली मात्रै होइन, उनीहरूको वर्षभरको पसिना र आशा दुवै डुबाएको छ।
सुनसरी, जसलाई कोशी प्रदेशकै अन्नको भकारी मानिन्छ, त्यहाँको धान र तरकारी खेती अहिले विनाशको अवस्थामा पुगेको छ। बिहीबारदेखि लगातार परेको वर्षाले विशेषगरी राधा–१२ र बासमती जातका धान लडाएर पुरै भिजाएको छ। किसानहरूले अझै दुई साता पाक्ने बालीलाई पानीले डुबाएपछि “अब धान काम लाग्दैन” भन्ने पीडा सुनाएका छन्।
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहका अनुसार हरिनगर, बर्जु, दुहवी र कोशी गाउँपालिका सबैभन्दा प्रभावित छन्। उनका अनुसार, “असोजमा पनि असामयिक वर्षा भयो, अब फेरि कार्तिकमा आएको वर्षाले किसानको मनोबलमै चोट पुर्यायो।”
गत वर्ष सुनसरीमा २ लाख १७ हजार मेट्रिक टन धान उत्पादन भएको थियो, तर यस वर्ष २० प्रतिशतभन्दा बढी कमी हुने अनुमान गरिएको छ। अहिले सबै पालिकाबाट क्षतिको विवरण संकलन भइरहेको सिंहले जानकारी दिए।
तर क्षति धानमै सीमित छैन। सुनसरीका किसानले बेमौसमी तरकारी खेतीमार्फत आत्मनिर्भरता र आम्दानीको बाटो समातेका थिए, तर यो वर्ष वर्षाले त्यो सपना पनि भत्काइदिएको छ। देवानगञ्ज, हरिनगर र कोशी गाउँपालिकाका किसानहरूका तरकारी खेतहरूमा पानी जमेर सबै बाली नष्ट भएको छ।
देवानगञ्जका किसान रामवृक्ष मेहताले दुःख पोख्दै भने, “अब केही दिनसम्म पानी नघटे सब बाली सड्छ। हामीले लगाएको पसल बजार पुग्नुअघि नै माटोमा हराउँछ।”
सुनसरीका किसानहरूले वार्षिक करिब सात सय मेट्रिक टन तरकारी इनरुवा, विराटनगर हुँदै काठमाडौंसम्म पुर्याउँथे। अहिले ती खेतहरूमा पानी र निराशा मात्र बाँकी छ।
इनरुवाको वविया, जल्पापुर, भोक्राहा नरसिंह, बराहक्षेत्र र दुहवीका किसानले पनि काउली, मुला, भिन्डी, फर्सी, घिरौला, प्याज, घिउसिमी जस्ता बेमौसमी तरकारी खेतमै सडेको बताएका छन्।
कृषक संघका स्थानीय प्रतिनिधिहरूले सरकारलाई तत्काल क्षतिपूर्तिको प्रक्रिया छिटो गर्न र बाली बीमालाई प्रभावकारी बनाउन आग्रह गरेका छन्। उनीहरूका अनुसार, “प्राकृतिक प्रकोपले किसानलाई वर्षेनी मार्दै ल्याएको छ, अब राहत होइन दीगो समाधान चाहिन्छ।”
यता पीडित किसान अहिले राहत होइन, दीगो कृषि योजना र बजार सुनिश्चितता माग्दै छन्। बेमौसमी वर्षा र अस्थिर मौसमको मार झेलिरहेका उनीहरूका लागि सरकारले तत्काल राहत, बीमा र प्राविधिक सहयोगको संयोजन गर्न जरुरी देखिन्छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post