इनरुवा । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका–१ मा मिरमिरे जनहीत क्लबको आयोजनामा दोस्रो मिरमिरे जनहीत च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ।
सो प्रतियोगिताको उद्घाटन भोकाहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले प्रमुख अतिथिका रूपमा गर्नुभयो। उद्घाटन गर्दै अध्यक्ष आजादले खेलकुद युवाको आत्मविश्वास, एकता र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेलकुद क्षेत्रलाई सशक्त बनाउने कार्यमा गाउँपालिका सदैव सहकार्य र सहयोग गर्न तयार रहने प्रतिबद्धता पनि जनाउनुभयो।
अध्यक्ष आजादले भन्नुभयो —
“हाम्रो गाउँका युवाहरू खेलकुदमा सक्रिय देखिनु निकै सकारात्मक पक्ष हो। खेलकुदले शरीर मात्र होइन, सोच र समाजप्रतिको दृष्टिकोण पनि बलियो बनाउँछ। खेलकुदका माध्यमबाट हाम्रो गाउँले राष्ट्रिय पहिचान बनाउन सक्छ, त्यसैले स्थानीय तहले खेलकुद विकासमा निरन्तर सहयोग गर्नेछ।”
आयोजक समितिका सदस्य पारस दाहालका अनुसार प्रतियोगिता असोज २७ गतेदेखि कार्तिक २ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन समारोहको अध्यक्षता अमन दाहालले गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि सुनिता कुमारी उराँव, वडा नं. १ का वडाध्यक्ष लक्ष्मण मेहता, तरुण दल गाउँपालिका सभापति आरिफ हुसेन, सचिव पंकज यादव, समाजसेवी प्रविण मेहता, सविर अंसारी, पदम बहादुर बस्नेत, हामजा अंसारी, शिक्षक सविर मंसुरी लगायतको उपस्थिति रहेको थियो।
आयोजक क्लबका अनुसार प्रतियोगितामा विभिन्न स्थानीय टिमहरूले सहभागिता जनाउनेछन्। अन्तिम दिन विजेता र उपविजेतालाई आकर्षक पुरस्कार वितरण गरिने बताइएको छ।










Discussion about this post