इनरुवा । सुनसरीको भोकाहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र वर्तमान अर्थमन्त्री बीच आज भएको विशेष भेटघाट सकारात्मक र फलदायी बनेको छ। विगतमा फिर्ता भएको र रोकिएको करिब ३ करोड रुपैयाँको बजेट पुनः प्राप्त गर्दै गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
अध्यक्ष आजादका अनुसार, वित्तीय कारणले रोकिएका कतिपय योजना अघि नबढेपछि गाउँपालिकाले निरन्तर पहल गरिरहेको थियो। यही पहल अन्ततः सफल हुँदै उक्त रकम पुनः गाउँपालिकाको नाममा संचालनयोग्य बनाइएको हो।
भेटघाटका क्रममा गाउँपालिका र अर्थ मन्त्रालयबीच आवश्यक योजनाहरूका लागि बजेट कार्यान्वयनसम्बन्धी आधिकारिक सम्झौता समेत सम्पन्न भएको छ। यसले अब बजेट पुस्तिकामा मात्र सीमित रहेको रकम वास्तविक काममा रूपान्तरण हुने अपेक्षा गरिएको छ।
यस अवसरमा अर्थमन्त्रीले भोकाहा नरसिंह गाउँपालिकाको सडक, कृषि, शिक्षा, खानेपानी तथा आधारभूत पूर्वाधारका योजनाहरूलाई प्राथमिकता दिने आश्वासन दिएका छन्। उनले आवश्यकता र औचित्यका आधारमा गाउँपालिकाका विकास योजनामा थप बजेट सहयोग दिने प्रतिवद्धता व्यक्त गरेका छन्।
अध्यक्ष आजादले सरकारको सकारात्मक सहयोगले आगामी वर्षमा भोकाहा नरसिंह गाउँपालिकाको विकास गति थप मजबुत र परिणाममुखी बन्ने विश्वास व्यक्त गरेका छन्। स्थानीयवासीले यस उपलब्धिलाई गाउँपालिकाको दीर्घकालीन विकासमा “महत्वपूर्ण टर्निङ प्वाइन्ट” को रूपमा लिएका छन्।









Discussion about this post