इनरुवा । सुनसरी सदरमुकाम इनरुवा, इटहरी र धरान लगायत पूर्वी नेपालका शहरी क्षेत्रबाट १०० भन्दा बढी मोटरसाइकल चोरी गरेर भारतको जोगबनी, फारबिसगञ्ज, फुल्का पुर्याएर नक्कली चेसिस नम्बर लगाई बिक्री गर्ने गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगरा-६ का ४० वर्षीय नजाम अन्सारी र भोक्राहा नरसिंह-२ का २३ वर्षीय निकाईल अन्सारी छन् ।
उनीहरू लामो समयदेखि मोरङ र सुनसरीका धरान, विराटनगरलगायतबाट मोटरसाइकल चोरीमा संलग्न सङ्गठित गिरोहका सदस्य भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीले गिरोहमा संलग्न चोरहरूको खोजतलासमा विशेष अपरेसन सञ्चालन गरेको थियो ।
उनीहरू सोही क्रममा मङ्सिर २९ गते पक्राउ परेका हुन् । उनीहरू समेतको गिरोहले मोटरसाइकल चोरी गर्दै गरेको सिसिटिभी फुटेजसहित पीडितहरूबाट जाहेरी लिई प्रहरीले अनुसन्धान कार्य पुरा गरेको छ ।
पक्राउ परेका नजाम अन्सारीबाट लागूऔषध ब्राउन सुगर १ ग्राम ३ मिलिग्राम समेत बरामद भएकोले उनलाई लागूऔषध मुद्दामा समेत अनुसन्धान गरिएको मोरङ प्रहरीले जनाएको छ ।
उनीहरूले २०८० भदौ १० गते विराटनगर-२ बन्जरा चोकबाट को २६ प ७७७६ नम्बरको होण्डा साइन मोटरसाइकल, भदौ १५ गते विराटनगर-४ नोबेल अस्पतालबाट को ४३ प ४८०४ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल, मङ्सिर ६ गते विराटनगर-७ सेन्ट्रल मल अन्डरग्राउन्ड पार्किङबाट को १० प ९५६६ नम्बरको स्प्लेण्डर मोटरसाइकल चोरी गरेको खुलेको छ ।
यसैगरी मङ्सिर ८ गते विराटनगर-९ गुद्री बजारबाट को २८ प ७८१५ नम्बरको यमाहा मोटरसाइकल, ९ गते विराटनगर-७ कोशी अस्पतालबाट को २५ प १८११ नं को होण्डा कम्पनीको सिवि हर्नेट मोटरसाइकल, २२ गते विराटनगर-४ नोबेल अस्पतालबाट को २९ प ५५४ नं। को हिरो स्प्लेण्डर मोटरसाइकल, २७ गते मोरङ विराटनगर-६ भाटभटेनी सुपर मार्केटबाट को २१ प ५८९४ नम्बरको साइन मोटरसाइकल चोरीमा उनीहरू संलग्न थिए ।
प्रहरीमा उनीहरूविरुद्ध दर्ता भएका ७ वटा मोटरसाइकल चोरी र अवैध लागुऔषध ब्राउनसुगर मुद्दामा अनुसन्धान पुरागरी सरकारी वकिल कार्यालय मोरङमा २२ गते पेश गरिएको हो ।
पक्राउ परेका नजाम अन्सारी विगतमा विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । यसअघि मोरङ प्रहरीबाट नजाम विरुद्ध चोरी मुद्दा दर्ता भएकोमा मोरङ जिल्ला अदालतबाट ५ हजार धरौटी माग भएको धरौटी राख्न नसक्दा थुनामा बसेका थिए ।
२०६७ पुस २० गते जिल्ला प्रहरी सुनसरीबाट सार्वजनिक अपराधमा मुद्दा दर्ता भएकोमा माघ २ गते जिल्ला प्रशासनले ९ हजार रुपैयाँ धरौटीमा छोडको थियो । २०७२ जेठ २७ मा पनि सार्वजनिक अपराधमा मुद्दामा ३ हजार धरौटीमा छुटेका थिए ।
बलात्कार मुद्दामा पनि २०७६ कात्तिकमा मोरङ प्रहरीले मुद्दा दर्ता गरेको थियो । २०७९ कात्तिक १५ मा पनि बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ ।
नेपालबाट चोरी गरी भारतीय बजारमा बिक्री गरिएका मोटरसाइकलहरू सुनसरीको देवानगन्ज हुँदै सीमावर्ती भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिराको ओसारपसारमा प्रयोग हुने गरेको पाइएको छ ।
Discussion about this post