इनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवामा स्वास्थ्य मन्त्रालयबाट सरुवा भई आउने सिनियर पदका विशेषज्ञ चिकित्सकलाई जुनियर तहका मेडिकल अधिकृतले कामै गर्न नदिई फिर्ता पठाउने गरेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयबाट जिल्ला अस्पतालमा सरुवा भएर आएका सिनियर विशेषज्ञ चिकित्सकलाई जुनियर मेडिकल अधिकृतले ओपिडी सेवामा बसेर बिरामीको स्वास्थ्य परिक्षण, परामर्श र उपचार गर्ने कार्यकक्ष नदिई असहयोग गरेपछि फिर्ता जाने गरेका हुन ।
जिल्ला अस्पताल सुनसरीमा कार्यालय प्रमुखका रुपमा रहने मेडिकल सुपरिटेन्डेन्ट पदमा स्थायी दरवन्दीका सिनियर विशेषज्ञ चिकित्सक हुने स्वास्थ्य सेवा ऐन तथा नियमावलीका साथै प्रदेश स्वास्थ्य ऐनमा व्यवश्था भएकाले जुनियर मेडिकल अधिकृतले कार्यालय प्रमुख हुन नदिन कामै नगरी फिर्ता पठाउने गरेका हुन ।
अस्पतालमा गत माघ महिनामा दरवन्दीमा हाजिर हुन आएका दशौ तहका विशेषज्ञ चिकित्सक डा. योगेन्द्रप्रसाद गुप्ताले मेडिकल सुपरिटेन्डेन्टका रुपमा कामकाज गर्न कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा निवेदन दिएपछि जिल्ला अस्पतालमा उनलाई असहयोग गरेपछि उनले केही समय बिताएर कामकाज नगरि फिर्ता गएका थिए ।
गत भदौ महिनामा स्वास्थ्य मन्त्रालयबाट इनरुवा सरुवा भएर आएकी मेडिकल अधिकृत रहेकी श्रेया पंगेनीलाई प्रदेश स्वास्थ्य मन्त्रालयले निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएपछि जिल्ला अस्पतालमा सरुवा भएर आउने मन्त्रालयका स्थायी चिकित्सकसमेत रहेका सिनियर विशेषज्ञ चिकित्सक यहाँ कामकाज गर्न नसक्दा फिर्ता जाने गरेका हुन ।
गत बैशाख दोस्रो साता स्वास्थ्य मन्त्रालयबाट सुनसरी सरुवा भएर आएका फिजिसियन विशेषज्ञ चिकित्सक डा. सन्तोष राई इनरुवा अस्पतालमा कोरोना संक्रमण कालमा मेडिकल सुपरिटन्डेन्ट रहेका थिए ।
उनी पुनः जिल्ला अस्पताल सुनसरीमा मेडिकल सुपरिटेन्डेन्ट बन्ने अवश्था सृजना भएपछि जुनियर मेडिकल अधिकृतले ओपिडी सेवामा बसेर दैनिक बिरामीको स्वास्थ्य परिक्षण, परामर्श र उपचार गर्न कार्यकक्षसमेत नदिएको पाइएको छ ।
डा. पंगेनीको मनोमानीमा स्थानीय राजनीतिक दलका नेताहरुले साथ दिदै आएको कारण डा. राईले प्रमुख बनाउने मन्त्रालयको तयारी पनि अलपत्र परेको बताइन्छ । डा. पंगेनीको यसअघि नै सरुवा भइसकेको भएपनि उनीसँग निकट रहेका स्थानीय नेताहरुले उनको सरुवा बदर गरेर उनलाई यही थमौती गराएको स्रोतले जनाएको छ ।
डेढ महिनादेखि हाजिर गर्दै कोठा फर्किदै जागिर खाइरहेका डा. राईले डेढ महिनादेखि आफू दैनिक अस्पताल जाने र दिनभरी घुमेर फर्किने गरेको बताए । उनले भने, ‘सरुवा भएर आएको चिठी बुझाएको छु । कोशी प्रदेशमै समायोजन दरबन्दी भएको सबैभन्दा पहिलो सिनियर डाक्टर म मात्रै हुँ । म स्वतह जिल्ला अस्पताल सुनसरीमा कार्यालय प्रमुख मेडिकल सुपरिटेण्डेन्ट हुनु पर्ने हो तर किन जिम्मेवारी दिइएन बुझ्नै सकेको छैन ।’
उनले थपे, ‘इनरुवाको आवश्यकता विशेषज्ञ फिजिसियन चिकित्सकको हो । म इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गरेको चिकित्सक हुँ । मैले हेर्ने विरामी दैनिक आएको देख्छु तर मलाई प्रशासनले अहिलेसम्म विरामी परिक्षण गर्न, परामर्श गर्ने र उपचार गर्ने कार्यकक्षसमेत दिएको छैन । त्यत्तिकै बाहिर बाहिर दर्शक जस्तो हेरेर फर्किने गरेको छु ।’
डा. राईले परिक्षण कालसमेत पुरा नभएको आफूभन्दा आठ ब्याच जुनियर मेडिकल अधिकृत कार्यालय प्रमुखको रुपमा कार्यरत रहने र कानूनी रुपमा स्वतह सिनियर आएपछि हट्नु पर्ने ब्यवस्था हुँदाहुँदै डा. पंगेनीले जिम्मेवारी किन नछाडेको हो बुझ्न नकिरहेको बताए ।
उनले भने, ‘यसरी अपमानित भएर म धेरै दिन बस्दिन । केही समय हेर्छु, समस्या समाधान भए त्यसपछि न्यायको लागि कानूनी उपचारको बाटो खोज्न अदालत जान्छु ।’ डा. राईले थपे, ‘मभन्दा अगाडि आउनु भएका सिनियरलाई समेत अपमान गरेर हाजिर हुन नदिई फिर्ता पठाइएयो, विरामीको उपचारको लागि कार्यकक्ष नै नदिएर फर्काइयो । तर म यसै फर्किन्न, कानूनी बाटो अपनाउँछु ।’
Discussion about this post