सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको कोशी गाउँपालिकामा निर्माणाधीन कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको अनुगमन गर्नुभएको छ।
प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको यस परियोजनाको पहिलो चरणको काम हाल सञ्चालनमा छ। यो परियोजना कोशी व्यारेजको पूर्वपट्टी पूर्व-पश्चिम राजमार्गमा अवस्थित छ।
२२ विगाहा १२ कठ्ठा क्षेत्रफलमा फैलिएको यस सेन्टरमा १ सय ७५ वटा बस पार्क गर्न सकिने पार्किङ स्थल, पेट्रोल पम्प, चालकहरूका लागि विश्रामस्थल, स्वीमिंग पुल, प्रहरी चौकी, स्वास्थ्य चौकी, रेस्टुरेन्ट लगायतका संरचनाहरू निर्माणाधीन छन्।
रिफ्रेसमेन्ट सेन्टरको अनुगमन गर्दै मुख्यमन्त्री कार्कीले पहिलो चरणको काम छिट्टै सम्पन्न हुने आशा व्यक्त गर्नुभयो। स्थानीयहरूको सहयोगले परियोजनाको काम सहज रूपमा अघि बढिरहेको उल्लेख गर्दै उहाँले चैत महिनाभित्र पहिलो चरणको काम पूरा हुने जानकारी दिनुभयो। दोश्रो चरणको कामका लागि पनि स्थानीयको सहयोग आवश्यक हुने बताउँदै उहाँले तीन वर्षभित्र सम्पूर्ण परियोजना सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो।
पहिलो चरणका कामहरू पूरा गर्न ५७ करोड ९८ लाख लागत लाग्ने अनुमान गरिएको भए तापनि हालसम्मको सम्झौता अनुसार काम ३० करोड ४३ लाखमा सम्पन्न गर्न लागिएको छ।
परियोजना सम्पन्न गर्न कुल २ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। अनुगमनका क्रममा कोशी प्रदेशका पूर्वमन्त्री जगदिशप्रसाद कुसियैतले परियोजनासम्बन्धी विषय र स्थानीयका समस्याहरूका बारेमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराउनुभएको थियो।
अनुगमन टोलीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, प्रदेश प्रमुख सचिव केदारनाथ शर्मा, सचिव अशोक साह तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो।
Discussion about this post