इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको भन्दै मदरसा समन्वय समितिले गाउँपालिकालाई ध्यानाकर्षण गराएको छ। समितिले गाउँपालिका अध्यक्ष अजमल अख्तर लाई ध्यानाकर्षण पत्र बुझाउँदै मदरसासम्बन्धी समस्या समाधानका लागि सहजीकरणको माग गरेको हो।
समितिले बुझाएको पत्रमा सार्वजनिक बिदा कार्यान्वयनका कारण मदरसाको नियमित पठनपाठन, परीक्षा सञ्चालन तथा वार्षिक शैक्षिक कार्यतालिकामा अवरोध सिर्जना भएको उल्लेख छ। मदरसाहरूमा धार्मिक परम्पराअनुसार लामो बिदापछि नयाँ शैक्षिक सत्र सुरु हुने अवस्थामा बीचमै सार्वजनिक बिदा थपिँदा शैक्षिक गतिविधि प्रभावित भएको समितिको भनाइ छ।
समितिले मदरसाको सञ्चालन प्रकृति सामुदायिक विद्यालयभन्दा फरक रहेको भन्दै स्थानीय सरकारले विशेष व्यवस्था गर्दै पूर्ववत् रूपमा मदरसा सञ्चालन गर्न सहमति प्रदान गर्न अनुरोध गरेको छ।
ध्यानाकर्षण पत्रमा मदरसाहरूको नाममा आन्तरिक राजस्व कार्यालयबाट पान नम्बर प्राप्त गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै प्रक्रिया सहज बनाउन पनि माग गरिएको छ। समितिका अनुसार पान नम्बर नहुँदा मदरसाको आर्थिक व्यवस्थापन, अभिलेख राख्ने काम तथा पारदर्शिता कायम गर्न समस्या भइरहेको छ।
समितिले गाउँपालिकाको शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व नभएको भन्दै मदरसा क्षेत्रबाट एक जना प्रतिनिधि अनिवार्य रूपमा समावेश गर्नुपर्ने मागसमेत अघि सारेको छ। समितिको भनाइमा प्रतिनिधित्व नहुँदा मदरसाका समस्या, आवश्यकता र सुझाव नीति निर्माण तहसम्म पुग्न नसकेको छ।
ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष अजमल अख्तरले मदरसाको भूमिका समाजमा महत्वपूर्ण रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मदरसाको शैक्षिक गतिविधि अवरोध नहुने गरी बिदा व्यवस्थापन, पान नम्बर प्रक्रिया सहजीकरण तथा शिक्षा समितिमा प्रतिनिधित्वका विषयमा आवश्यक छलफल गरी उचित निर्णय गरिने बताएका छन्।
स्थानीय धार्मिक अगुवाहरूले मदरसा समन्वय समिति गठनलाई धार्मिक शिक्षा संरक्षण, व्यवस्थापन सुधार तथा समुदायको पहिचान मजबुत बनाउने सकारात्मक कदमको रूपमा लिएका छन्। उनीहरूले मदरसामा अध्ययनरत बालबालिकालाई अनुशासन, नैतिक शिक्षा र धार्मिक ज्ञान प्रदान हुने भएकाले यसको संरक्षण र व्यवस्थापनमा स्थानीय सरकारको सहकार्य आवश्यक रहेको बताएका छन्।
अब गाउँपालिकाले मदरसा समन्वय समितिले उठाएका विषयहरूलाई कसरी सम्बोधन गर्छ भन्ने विषयलाई धार्मिक तथा सामाजिक क्षेत्रले चासोका साथ हेरिरहेको छ।











Discussion about this post