दिपेन्द्र यादव/सुनसरी– रोजगारीको खोजीमा परदेश जान चाहने १९७ जना युवाका सपनाहरू धोका बनेका छन्। वैदेशिक रोजगारीका नाममा ‘म्यानपावर’ र ‘एजेन्ट’हरूले उनीहरूलाई झुक्याए। कसैले घर बेचेर त कसैले ऋणधन जोहो गरेर पैसा बुझाए, तर न त विदेश जान पाए, न त रकम फिर्ता पाए।
यो पीडा सुनसरीका ती युवाहरूको मात्रै होइन, हजारौं नेपाली युवाको साझा नियति बन्दै गएको छ। यस्तै अन्याय सहन नसकी, पीडित युवाहरू आप्रवासी स्रोत केन्द्र इनरुवा पुगे। उजुरीमा लेखिएको थियो— ‘साउन २०८० देखि अहिलेसम्म विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौंसम्म न विदेश पठाएको, न रकम फिर्ता गरेको।’
करोडौँको ठगी, न्यायको खोजी
सुनसरी संयोजक धिरज भट्टराई भन्छन्, “चालु आर्थिक वर्षमा मात्र १९७ जनाले उजुरी दिएका छन्। ठगिएको कुल रकम एक करोड ९२ लाख २५ हजार रुपैयाँ रहेको छ। हालसम्म ९४ लाख ६७ हजार फिर्ता गराइएको छ।”
म्यानपावर कम्पनीहरू र तिनका एजेन्टहरूले झूटो आश्वासन दिएर पैसा लिने अनि लामो समयसम्म सम्पर्कविहीन हुने प्रवृत्ति बढ्दै गएको छ। वैदेशिक रोजगारीमा जाने युवाहरूको चासो, मेहनत र सपना पैसामा किनबेच भइरहेको छ।
फिर्ता गराइयो केही रकम, अझै बाँकी पीडा
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वैदेशिक रोजगार विभागको पहलमा अहिलेसम्म ९४ लाख ६७ हजार फिर्ता गराइएको छ। प्रहरीकै पहलमा एक लाख ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता भइसकेको संयोजक भट्टराई बताउँछन्। तर अझै पनि ठूलो रकम पीडितहरूलाई फिर्ता गरिन बाँकी छ।
सुनसरी : रोजगारको आशा, समस्या पनि दोब्बर
वैदेशिक रोजगारीमा जानेहरूको सूचीमा सुनसरी अग्रस्थानमा छ। चालु आर्थिक वर्ष (२०८०/८१) को पहिलो पाँच महिनामा मात्र तीन हजार ३४१ युवाले श्रम स्वीकृति लिएका छन्, जसमा ३२२ महिला छन्। गएको वर्ष ९ हजार ८०६ जना विदेशिएका थिए, जसमा ८३१ महिला थिए।
तर, रोजगारका नाममा ठगी गर्नेहरूको जालोले हजारौं युवालाई धोका दिइरहेको छ। घरपरिवारको भविष्य सुरक्षित गर्ने आशमा विदेशिन चाहने युवाहरूले ठगीको शिकार बन्न नपरोस् भनेर सरकारी संयन्त्र अझै कडाइका साथ अघि बढ्न आवश्यक देखिन्छ। पीडितहरूका आँसु पुछ्ने समय भइसकेको छ।










Discussion about this post