इनरुवा । भदौ २४ गते राति ‘जेनजी आन्दोलन’को अव्यवस्थाबीच सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट कैदीबन्दी सामूहिक रूपमा भाग्न सफल हुनुमा प्रशासनिक कमजोरी र सुरक्षा व्यवस्थापनको लापरबाही मुख्य कारण देखिएको छ।
कारागार प्रशासनकै गल्तीका कारण सयौँ कैदीबन्दी फरार भएपछि अहिले पनि पाँच सयभन्दा बढी कैदीबन्दी हराइरहेका छन्। कारागार प्रमुख जेलर सुवास लामिछानेका अनुसार हालसम्म १,२५९ जना कैदीबन्दीले आत्मसमर्पण गरी पुनः कारागार प्रवेश गरेका छन् भने अझै ५७२ जना फरार नै छन्। तीमध्ये ४९ जना भारतीय नागरिक रहेका छन्।
भदौ २४ गते राति आन्दोलनकै क्रममा भिड नियन्त्रण गर्न असफल कारागार प्रशासनले पर्याप्त सुरक्षाकर्मी परिचालन गर्न नसक्दा करिब १,७९६ कैदीबन्दी सबै बाहिर निस्किएका थिए। त्यसपछि मात्र सुरक्षा निकाय र प्रशासनले खोजी अभियान सुरु गरेको थियो।
कारागार व्यवस्थापन विभागले असोज २० गतेसम्म फर्किन निर्देशन दिएको भए पनि उक्त समयावधि सकिँदा पनि सयौँ जना नफर्किएकाले कानुनी कारबाहीको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार “फरार कैदीबन्दीहरू नियन्त्रणमा ल्याउन प्रहरी सक्रिय छ र फर्किन नचाहनेमाथि कानुनअनुसार कठोर कदम चालिनेछ।”
कारागार प्रशासनले फरारहरूको विवरण प्रहरीलाई पठाई सीमाक्षेत्र र मुख्य नाकाहरूमा निगरानी बढाएको बताइएको छ। तर प्रहरी स्रोतका अनुसार कारागारबाट भागेका धेरैजसोकै नाम, ठेगाना र मुलुक नठीक ठेगानाका कारण खोजीमा कठिनाइ भइरहेको छ।
स्थानीय सरोकारवालाहरूले झुम्का कारागारको सुरक्षा संरचना कमजोर भएको र पुरानो व्यवस्थामा सुधार नगरेका कारण यो घटना सम्भव भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार नियमित सुरक्षा समीक्षा, सिसी क्यामेरा र पर्याप्त प्रहरी तैनाथी भएको भए यस्तो घटना टार्न सकिन्थ्यो।










Discussion about this post