इनरुवा । मोरङको रंगेली नगरपालिका–७ स्थित प्रसिद्ध श्री संसारीमाई मन्दिरमा चोरी भएको छ। रातको समयमा मन्दिरको च्यानल गेटमा लागेको ताल्चा तोडेर चोरहरूले भित्र प्रवेश गरेको प्रहरी जानकारी दिन्छ।
प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीको नेतृत्वमा इलाका प्रहरी कार्यालय रंगेलीले घटनाको अनुसन्धान सुरु गरेको छ। चोरीमा मन्दिरभित्र रहेका संसारी माताका दुई साना मूर्ति, ठूलो मूर्तिमा राखिएका चाँदीका गरगहना र दानपेटिका भित्रको नगद रकम चोरी भएको पुष्टि भएको छ। अहिले सम्म चोरीमा संलग्नको पहिचान हुन सकेको छैन।
स्थानीयवासीले धार्मिक स्थलहरूमा हुने यस्ता घटनाप्रति चिन्ता व्यक्त गर्दै दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। प्रहरीले सिसी टिभी फुटेज र अन्य प्रमाणहरू संकलन गर्दै घटनामा समूहको संलग्नता छ कि छैन भन्ने पत्ता लगाइरहेको छ।
धार्मिक स्थलमा हुने चोरीले मन्दिर व्यवस्थापनको जिम्मेवारी मात्र नभएर राज्य र समाज दुवैको सुरक्षा दायित्व हो भन्ने संदेश पनि दिएको स्थानीयहरू बताउँछन्।











Discussion about this post