इनरुवा । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुनसरी–३ मा चुनावी गतिविधि तीव्र बन्दैछ। नेपाली कांग्रेसका अनुभवी नेता विजयकुमार गच्छदार आठौँपटक उम्मेदवारी दिएका छन्।
गच्छदारले ‘गुमेको विरासत फर्काउने’ नारा लिएर घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद गर्दैछन्। उनले स्थानीय विकास, अधुरा योजना पूरा गर्ने र आफ्नो अनुभवलाई मुख्य एजेन्डा बनाएका छन्। २०७९ मा एमालेकी भगवती चौधरीसँग पराजित भएपछि उनले त्यस हारलाई ‘जनताको असन्तुष्टि बुझ्ने अवसर’को रूपमा लिएका थिए।
“यो मेरो अन्तिम उम्मेदवारी हो। यसपटक जनता फेरि विश्वास गरेर जिताइदिनुहुन्छ भन्ने भरोसा छ,” गच्छदारले बताएका छन्।
२०४८ देखि २०७४ सम्म विभिन्न पार्टीबाट निरन्तर विजयी रहिसकेका गच्छदार यसपटक अधुरा सिँचाइ आयोजना, सडक विस्तार, स्वास्थ्य केन्द्र र शिक्षा पूर्वाधार पूरा गर्ने वचनसहित चुनावी मैदानमा छन्।
एमालेकी चौधरी चौथोपटक चुनावी प्रतिस्पर्धामा छन्। उनले भ्रष्टाचारविहीन छवि र विकास कार्यलाई आधार बनाएर मतदातालाई आकर्षित गरिरहेकी छन्।
रास्वपाका अशोक चौधरी ‘नयाँ विकल्प’को रूपमा मतदाताको ध्यान तान्ने रणनीतिमा छन्। उनी विश्वास गर्छन् कि पार्टीको राष्ट्रिय लहरले पनि मतदातासँग जोड्नेछ।
नेकपाका दुर्गेशकुमार चौधरी कम्युनिस्ट विकल्पको रुपमा प्रस्तुत छन्। सुनसरी–३ मा थारू समुदायको बाहुल्यले जातीय मत समीकरण निर्णायक रहने देखिन्छ।
निर्णायक क्षेत्रका रूपमा इटहरी उपमहानगरपालिका ६–१५ नम्बर वडा, दुहवी नगरपालिका, गढी र बर्जु गाउँपालिका, इनरुवा नगरपालिका वडा ७ मानिन्छ।
सुनसरी–३ मा यसपालि कांग्रेस, एमाले, रास्वपा, नेकपा, र अन्य २३ उम्मेदवार प्रतिस्पर्धामा छन्।
२०७९ मा यस क्षेत्रमा एमालेकी चौधरीले ४०,७८८ मत प्राप्त गर्दै जितेकी थिइन् भने गच्छदारले ३५,६०० मत पाएका थिए। कुल मतदाता १,३४,३०२ मध्ये पुरुष ६९,१२ र महिला ६५,२९० छन्।










Discussion about this post