इनरुवा । स्थानीय तह निर्वाचन २०७९ नजिकिदै गर्दा नेकपा एमाले चुनाबी प्रचार अभियानमा केन्द्र देखि गाउँ सम्म निकै सक्रिय देखिएको छ । चुनाबी प्रचारका लागि स्थानीय स्तरमा निर्वाचन परिचालन कमिटि गठन, कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै एमाले प्रवेश गर्नेहरुको संख्या पनि दिनानुदिन बढ्दै गएको छ ।
यसैैक्रममा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का निर्वाचित वडाध्यक्ष राजेश्वर प्रसाद साह सहित एक सय भन्दा बढी सर्वसाधारणहरु नेकपा एमाले प्रवेश गरेका छन् ।
नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटिको आयोजनामा पार्टी प्रवेश कार्यक्रममा भोक्राहा नरसिंह–६ का वडाध्यक्ष राजेश्वर प्रसाद साह सहित वडा सदस्यहरु एकसाथ नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टीबाट टिकट पाएर भोक्राहा नरसिंह वडा नम्बर–६ को वडाध्यक्ष सहित सदस्यहरु गरी पाँच जना निर्वाचित भएका थिए ।
निर्वाचित जनप्रतिनिधिहरुले सोमवार भोक्राहा नरसिंहमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एक साथ नेकपा एमाले प्रवेश गरेपछि अहिले जनता समाजवादी पार्टी नेपालमा हलचल मचेको छ ।
भोक्राहा नरसिंह–६ का वडाध्यक्ष राजेश्वर प्रसाद साह सदस्यहरु विशेश्वर सदा, शिव नारायण साह, अनिता देवी साह र रिता ऋषिदेव सहित एक सय भन्दा बढी सर्वसाधारणहरु एक साथ नेकपा एमाले प्रवेश गरेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका–६ का वडाध्यक्ष साहले जसपा पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको बताएका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै वडाध्यक्ष साहले कुनै लोभ लालचमा नपरी निस्वार्थ भावनाले नेकपा एमाले प्रवेश गरेको बताएका छन् ।
जनताको चाहना अनुरुप विकासको कामलाई अगाडी बढाएकोले आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीले मुल्यांकन गरेर वडामा टिकट दिनेमा आफु विश्वस्त रहेको उनले बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीश प्रसाद कुसियैत, सहइन्चार्ज लक्ष्मी गौतम, केन्द्रीय सदस्य तैयब अन्सारी, पोष्ट कुमार नेपाल, रामप्रसाद मेहता लस्करी अन्सारी, सरोज सिंह, बाबुराम साह, रमेश प्रसाद यादव, रामकुमार मेहता, हात्तिम अंसारी, ललित कुमार थापा,पुनम कुमारी साह लगायतका नेताहरुले नवप्रवेशीहरुलाई अविर र गम्छा लगाई स्वागत गरेका थिए ।
Discussion about this post