दिपकजंग शाही – सुर्खेत / कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्षले ताला लगाएपछि एक विद्यालयको परीक्षा स्थगित भएको छ ।
पलाँता–१ खाडाजयखोलामा रहेको गणेश आधारभूत विद्यालयमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आईतबार दिउँसो ताला लगाएको विद्यालयले जनाएको छ ।
‘हिजो ३ बजेतिर एक्कासी आएर अध्यक्षज्यूले विद्यार्थीलाई बाहिर निकालेर विद्यालयका दुई वटा कोठामा ताल्चा लगाएको छ,’ विद्यालयका प्रधानाध्यापक सर्पानन्द न्यौपानेले भने, ‘यसको कारण के हो भन्नेबारेमा हामी नै अन्यौलमा छौं, यसले गर्दा आजदेखि सञ्चालन गर्ने भनिएको परीक्षा पनि स्थगित गरेका छौं ।’
प्रधानाध्यापक न्यौपानेका अनुसार दिउँसो कक्षा कोठामा बसिरहेका कक्षा ४ र ५ का विद्यार्थीलाई बाहिर निकालेर अध्यक्ष बमले दुई वटा कोठामा ताल्चा लगाएका थिए । गाउँपालिका अध्यक्षले ताल्चा लगाईदिएपछि सोमबारदेखि सञ्चालन गर्ने भनिएको परीक्षा अब ५ गतेबाट सुरु गर्ने निर्णय भएको छ ।
‘परीक्षा सञ्चालनको तयारी गरेकै बेला उनले ताला लगाए, यसले गर्दा अब भोलि (मंगलबार) सरस्वति पूजा भयो । पाँच गतेबाट सञ्चालन गर्ने भनेका छौं,’ प्रधानाध्यापक न्यौपानेले भने ।
कक्षा १ देखि ८ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा जम्मा ४९१ जना विद्यार्थी पढिरहेका छन्।
विद्यालय व्यवस्थापन समितिका सदस्य तथा कार्यवाहक अध्यक्ष मन प्रसाद न्यौपानेका अनुसार विद्यालयका दुई वटा कोठा निर्माण गर्न भनेर गाउँपालिका अध्यक्ष बमले व्यक्तिगत रुपमा रकम उपलब्ध गराएका थिए ।
‘विद्यालयमा यसअघि चार वटा ब्लकमा ८ वटा कोठा थिए,’ व्यवस्थापन समितिका सदस्य न्यौपानले भने, ‘उनले आफ्नो व्यक्तिगत सहयोगा दुईवटा कोठा बनाउँछु भनेर एउटा ब्लकलाई भत्काएर दुई वटा नयाँ कोठा बनाएको थियो, हिजो मैले बनाएको भवनमा पढाउन दिन्न भनेर होला त्यहीँ ताल्चा लगाए ।’
Discussion about this post