सन्तोष मेहता / विराटनगर ।
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका बर्जु गाउँपालिका–१ का २२ वर्षीय धनीलाल उराउको आज बिहान मृत्यु भएको छ । घाइतेको मृत्युपछि अस्पताल तनावपूर्ण बनेको छ । उपचारका क्रममा विराटनगरको लाइफ गार्ड अस्पतालमा बिहान ५ः३० बजेतिर उराउको मृत्यु भएको हो । प्रहरीका अनुसार को २८ प ३८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति १० बजेतिर गम्भीर घाइते भएका उराउलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अत्यधिक मादक पदार्थ सेवन (मापसे) गरेर मोटसाइकल चलाएका कारण दुर्घटना भएको खुलेको छ । उपचारकै क्रममा उराउँको मृत्यु भएपछि अस्पताल परिषर बिहानैदेखि तनावपूर्ण बनेको हो । अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठका अनुसार घाइतेको मृत्यु भएपछि आफन्त र परिवारका सदस्यले शव बुझेर घरतिर लैजाने तयारी गरेका थिए । तर त्यत्तिकैमा भेला भएको एउटा समूह शव लैजान नदिइकन अस्पतालविरुद्ध नाराबाजी र प्रदर्शनमा उत्रिएको उनको भनाइ छ । आक्रोसित भीडले अस्पताल बाहिर टायर बालेर नाराबाजी र प्रदर्शन गरिरहेको छ । आन्दोलनमा उत्रिएकाहरुले बरगाछी–चाँदनी चोक सडकखण्ड अवरुद्ध बनाएका छन् । अस्पताल प्रवेश गर्ने मुख्य गेटमै टायर बालेर आन्दोलन हुन थालेपछि उपचारका लागि ल्याइएका बिरामीलाई अस्पताल भर्ना गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ । सडक सवारीसाधनसमेत चल्न नदिकन अस्पताल प्रवेशद्धारमा टायर बाल्दै आन्दोलन हुन थालेपछि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए । कुनै पनि अप्रीय घटना हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाएर आक्रोसित बनेकाहरुलाई सम्झाईबुझाई गर्ने काम भइरहेको उनको भनाइ छ । अस्पताल भर्ना गर्नेवित्तिकै उपचारमा चासो नदिएका कारण दुर्घटनाका घाइतेको मृत्यु भएको स्थानीय वेदराज राउतले बताए । अन्त्येष्टिका लागि शव लैजान परिवारका सदस्य राजी भए पनि तेस्रो पक्ष आएर अस्पतालविरुद्ध लफडा गरिरहेको प्रशासन प्रमुख श्रेष्ठले बताए । उपचारका क्रममा अस्पताल र चिकित्सकबाट लापरबाही नभएको उहाँले बताए । तर बिरामीको मृत्यु हुँदा अस्पतालमा आन्दोलन हुनु दुःखद् भएको श्रेष्ठको भनाइ छ ।
Discussion about this post