दिपेन्द्र यादव/इनरुवा – सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता आजदेखि सुरू भएको छ। शारदा माध्यमिक विद्यालय, वडा नम्बर १ को खेल मैदानमा उद्घाटन गरिएको यस प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक र मानसिक विकास गर्दै विद्यालयहरूबीच आपसी सद्भावको वातावरण सिर्जना गर्ने आयाेजना गरिएको बताए ।
खेलकुद समितिका अध्यक्ष तथा शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख रमेशचन्द्र तिम्सिनाको अध्यक्षता र गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा प्रतियोगिताको औपचारिक उद्घाटन सम्पन्न भएकाे हाे ।
कार्यक्रममा विशिष्ट अतिथिहरूको रूपमा गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मण मेहता, वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र यादव, वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी, वडा नम्बर ६ का वडाध्यक्ष सेराजुद्विन अंसारी, र वडा नम्बर ८ का वडाध्यक्ष उस्मान अंसारी (भोला हाजी) उपस्थित थिए।
नेपाल रेडक्रस सोसाइटी भाेक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल, शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार मेहता, विभिन्न विद्यालयका प्रअहरू, शिक्षक, विद्यार्थी, र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका उद्घोषक कृष्ण विष्टका अनुसार, सहभागीहरूको उत्साहले खेलकुद गतिविधिलाई थप ऊर्जा प्रदान गरेको बताए ।
प्रतियोगितामा माध्यमिक र आधारभूत तहका विद्यार्थीहरूका लागि विभिन्न खेलहरू समावेश गरिएको छ।
माध्यमिक तह (कक्षा ९ र १०) तर्फ छात्र भलिबल, छात्रा स्लो साइकल रेस, छात्र/छात्रा हाईजम्प, छात्र/छात्रा लङजम्प, छात्रा २०० मिटर दौड, छात्र ४०० मिटर दौड गराइने भएका छन् ।
त्यसैगरी आधारभूत तह (कक्षा ६–८) तर्फ छात्र/छात्रा स्लो साइकल रेस, छात्र/छात्रा कबड्डी, आधारभूत तह (कक्षा ४–५),छात्र/छात्रा चम्चा दौड (५० मिटर), आधारभूत तह (कक्षा १–३) छात्र/छात्रा म्युजिक चेयर
प्रतियोगिता गराउने आयाेजकले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले उद्घाटन समारोहमा बोल्दै, खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक, र सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले विद्यालयहरूबीच सहकार्य र सद्भाव बढाउँदै खेलकुद संस्कृतिको विकासका लागि यस्ता प्रतियोगिताहरूले आधारशीला तयार गर्ने विश्वास व्यक्त गरेका हुन् ।
खेलकुद समितिका अध्यक्ष रमेशचन्द्र तिम्सिनाले अनुशासन, सहकार्य, र स्वस्थ जीवनशैलीको विकासका लागि खेलकुदलाई आधार मान्नुपर्नेमा जोड दिए।
यता आयोजकका अनुसार, प्रतियोगिताले भाेक्राहा नरसिंह क्षेत्रका विद्यार्थीहरूको प्रतिभा उजागर गर्दै नयाँ खेलाडीहरूको पहिचानमा सहयोग पुर्याउनेछ। साथै, यस्ता कार्यक्रमहरूले स्थानीय स्तरमा खेलकुदप्रतिको रुचि र सहभागिता अभिवृद्धि गर्दै नयाँ पुस्तालाई प्रेरित गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिता पुस २८ र २९ गतेसम्म सञ्चालन हुनेछ।










Discussion about this post