दिपेन्द्र यादव/सुनसरी – प्रदेशस्तरीय खेलकुद प्रवर्द्धन तथा पर्यटन विकासलाई लक्षित गर्दै आयोजना गरिएको कोशी प्रिमियर लिग (KPL) २०८१ को ट्रफी अनावरण कार्यक्रम काेशी टप्पुमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। साथै, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा ट्रफी अनावरण गरिएको हो।
ट्रफी अनावरण गर्दै प्रमुख अतिथि मन्त्री पाँचकर्ण राईले खेलकुदलाई प्रदेश सरकारको प्राथमिकतामा राखेर आवश्यक बजेट तथा नीतिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने,
“कोशी प्रदेशमा खेल पर्यटनको अपार सम्भावना छ। खेल क्षेत्रमा लगानी गर्दा युवाहरूलाई प्रोत्साहित गर्न सकिन्छ, जसले उनीहरूलाई सकारात्मक दिशातर्फ लैजान मद्दत गर्दछ। कोशी प्रिमियर लिग जस्ता प्रतियोगिताहरूले स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्।”
कार्यक्रमका विशिष्ट अतिथि पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कोशी प्रदेशलाई खेल पर्यटनको केन्द्र बनाउन सरकार प्रयत्नशील रहेको बताए। उनले भने,
“खेलकुद प्रतियोगिताहरूले न केवल खेलाडीहरूलाई अवसर दिन्छन्, बरु खेलसँगै स्थानीय पर्यटन, व्यवसाय र समग्र आर्थिक वृद्धिमा योगदान पुर्याउँछ। प्रदेश सरकारले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रवर्द्धन गर्नेछ।”
कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले युवाहरूलाई खेलमार्फत आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए। उनले भने,
“खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो भविष्य निर्माणको अवसर पनि हो। यदि खेलाडीलाई उचित प्रशिक्षण, पूर्वाधार र सहयोग प्राप्त भएमा उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उच्च बनाउन सक्छन्।”
कोशी प्रिमियर लिग २०८१ को आयोजना स्थानीय तथा राष्ट्रियस्तरका खेलाडीहरूलाई अवसर प्रदान गर्ने, खेल पर्यटन प्रवर्द्धन गर्ने तथा क्रिकेटलाई प्रदेशस्तरमा संस्थागत गर्ने लक्ष्यसहित गरिएको बताइएको छ।
सञ्चालक समिति अनुसार, प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका उत्कृष्ट टिमहरूबीच प्रतिस्पर्धा हुनेछ। यसले स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा अघि बढ्न मार्ग प्रशस्त गर्ने विश्वास आयोजकको छ।
कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी भाेक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल, प्रहरी चाैकी काेशी ब्यारेजका प्रमुख बलराम यादव, भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र यादव, वलराम क्षेत्री, कृष्ण विष्ट, सुनिल साह,जुगेशवर यादव लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।
यता कोशी प्रिमियर लिग २०८१ को खेल डाक्टर खलिल आजाद खेलकुद मैदान भाेक्राहा नरसिंह २ मा आयोजना हुन लागिएको आयाेजक समितिले जनाएको छ।










Discussion about this post